'सिरियाको लडाकू संगठनका सैन्य प्रमुख मारिए'

  • 6 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption अल नुस्रा फ्रन्ट सिरियाका राष्ट्पति विरुद्ध संघर्षरत एउटा शक्तिशाली संगठन मानिन्छ

उत्तरी सिरियामा सेनाले गरेको हवाई हमलामा त्यहाँको लडाकू संगठन अल नुस्रा फ्रन्टका सैन्य प्रमुख मारिएका छन्।

सिरियाको सरकारी समाचार संस्थाले जनाए अनुसार, इडलिब प्रान्तमा लडाकू नेताहरुले बैठक गरिरहेका बेला उक्त आक्रमण गरिएको थियो।

जसमा सैन्य प्रमुख अबु होमाम अल शामी र अन्य तीनजना नेता मारिएका हुन्।

उक्त संगठनले पनि समाजिक संजालहरु मार्फत उनीहरु मारिएको पुष्टी गरेको छ।

शक्तिशाली

आक्रमणको विस्तृत विवरण आइसकेको छैन तर सिरियाको सरकारी समाचार माध्यमले आक्रमणलाई सेनाद्वारा गरिएको विशिष्ठ कारवाहीको संज्ञा दिएको छ।

उक्त जिहादी संगठनले आफ्ना सैन्य प्रमुख र अन्य तीनजना नेतालाई त्यसबेला गुमाएको छ, जुनबेला उत्तरी सिरियामा उ सरकार विरोधी सबैभन्दा शक्तिशाली संगठनको रुपमा देखा परिरहेको थियो।

अल नुस्रा फ्रन्ट सिरियाली राष्ट्रपति बशर अल असदलाई हटाउन संघर्षरत छ।

उसले अलेप्पो शहरस्थित सिरियाको हवाई सेनाको गुप्तर मुख्यालयमा आक्रमण गरेपछि त्यहाँ बिहिबार भीषण लडाईँ भएको थियो।

सम्बन्ध

तस्वीर कपीराइट AFP
Image caption नुस्रा फ्रन्टले अलेप्पो शहरस्थित हवाई सेनाको गुप्तचर मुख्यालयमा बुधवार आक्रमण गरेको थियो

अमेरिकाले अल नुस्रालाई आतंकवादी संगठनको सूचीमा राखेको छ।

उसलाई लामो समयदेखि अल कायदाको सहयोगीको रुपमा हेरिँदै आएको छ।

तर पछिल्लो समय खाडीका धनी देशहरुबाट हतियार र आर्थिक सहयोग जुटाउन उसले अलकायदासँगको सम्बन्ध तोड्न खोजिरहेको बताइएको थियो।

र, कतारले त्यसको निम्ति अल नुस्रालाई मनाउन खोजिरहेको समाचारहरुमा जनाइएको थियो।