'विवादित विषयमा प्याकेजमा सहमति खोजिने'

  • 7 मार्च 2015
Image caption प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र ३० दलीय मोर्चाबीच बैठक बस्न लागेको हो

प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै सत्तारुढ दलसँग शनिबारदेखि वार्तामा बस्न लागेको ३० दलीय मोर्चाले विवादित विषयबारे प्याकेजमा सहमति हुनपर्ने बताएको छ।

सत्तारुढ घटकको दोस्रो ठुलो दल नेकपा एमालेका नेताले मोर्चाको निर्णयलाई स्वागत गर्दै मतभेदका विषयहरुलाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्याउन आफूहरु पनि सकारात्मक रहने उल्लेख गरेको छ।

सत्तारुढ दलहरुले विवादित विषयहरुलाई प्रक्रियाबाट टुङ्ग्याउने अडान राखेपछि माघको पहिलो साताबाट संविधानसभाको बैठक बहिष्कार गर्दै आएको एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र सत्तारुढ दलहरुबीच शनिबार डेढ महिनापछि औपचारिक वार्ता हुन लागेको हो।

शुक्रबार प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डबीच भेटघाट भएपछि वार्ताको वातावरण बनेको हो।

प्याकेज

प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भने, “आन्तरिक छलफलमा प्रधानमन्त्रीले सहमतिकै आधारमा संविधान जारी गर्न प्रतिबद्ध छु भनिसकेपछि ३० दल र हाम्रो पार्टी औपचारिक वार्तामा बस्न खोजेको छ, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीलाई वार्तामा प्याकेजमै छलफल गरिन्छ।”

बहुमतीय प्रक्रियाबाटै संविधान निर्माण गर्ने भन्दै कांग्रेस-एमाले लगायतका दलहरुले संविधानसभामा समिति निर्माण गरी संविधानका विवादित विषयहरुमा प्रश्नावली समेत बनाएपछि ३० दलीय मोर्चा र सत्तारुढ दलहरुबी झनै तिक्तता बढेको थियो।

तर उक्त प्रक्रिया स्थगित गर्न प्रधानमन्त्री कोइराला तयार भएपछि ३० दलीय मोर्चाका प्रतिनिधि शनिबारको बैठकमा बस्न तयार भएको खड्काले बताए।

शनिबार बस्ने भनिएको बैठक दुई पक्षबीचको मतभेदलाई टुङ्गोमा पुर्याउन केन्द्रित हुने एमाले नेता भिम रावलले बताए।

सकारात्मक

उनले भने, “सहमति नभएका विषयहरुलाई टुङ्गोमा कसरी पुर्याउने भन्ने विषयमा पनि हामीले छलफल गर्नुपर्छ, मतभेदका विषयहरुलाई सल्ट्याएर छिटोभन्दा छिटो संविधान निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आफ्ना कुराहरु राख्छौँ।”

हप्तौंदेखि वार्ता अवरुद्ध रहेको बेला शनिबार बस्न लागेको बैठकलाई धेरैले सकारात्मक रुपमा लिएका छन्।

तर विवादित मुद्दाहरुमा पुरानै अडान दोहोरिन सक्ने आशंका भने कायमै रहेको बताइन्छ।