विमानस्थल ठप्प हुँदा यात्रु अलपत्र

  • 6 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption विमानको अघिल्लो चक्कालई अझै उठाए पछि मात्रै विमानलाई पछाडिबाट तानेर धावनमार्गमा ल्याउन सकिने बताइएको छ।

बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउमा दुर्घटनाग्रस्त टर्किस एयरको विमानलाई हटाउन नसकिएकाले शनिबार बिहान १० बजेसम्म सबै अन्तरराष्ट्रिय उडानहरु स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

घाँसमा जोतिएको विमानको अघिल्लो भागलाई पर्याप्त मात्रामा उचाल्न साँझसम्म नसकिएकाले शनिबार बिहानसम्ममा हटाउन सकिन्छ या सकिदैँन भन्ने यकिन रुपमा भन्न नसकिने अधिकारीहरुले बताएका छन्।

तीन दिनसम्म उडान नहुँदा विदेशका विमानस्थलमा अलपत्र पर्ने नेपाली यात्रुहरुको संख्या पनि बढ्दै गएको छ।

बुधबार बिहानदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खुल्न नसक्दा शुक्रबारसम्म आउने जाने गरि झन्डै २ सय ५० वटा अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन्।

गुनासो

जसले गर्दा ४० हजार भन्दा बढी स्वदेशी तथा विदेशी यात्रुहरु प्रभावित भएको बताइन्छ।

उडान सुचारु हुने आशमा शुक्रबार दिउँसो अन्तराष्ट्रिय विमानस्थलमा पुगेका मध्ये केही यात्रुले आफूसँग भएको पैसा पनि सकिँदै गएको र एयरलाइन्सहरुले पनि व्यवस्थापनबारे केही जवाफ नदिएको गुनासो गरे।

देशकै एकमात्र अन्तराष्ट्रिय विमानस्थलको उडान बन्द हुँदा त्यसको मुख्य असर नेपालभित्र मात्रै नभइ यहाँ उडान गर्ने पूर्वी एशिया र खाडी देशका विमानस्थलहरुमा परेको छ।

बैदेशिक रोजगारीमा गएका धेरै नेपालीको बसोबास रहेको सो क्षेत्रमा यात्रुहरुले खाना र बस्ने समस्या खेपिरहेको दोहा स्थित कान्तिपुर दैनिकका पत्रकार होम कार्कीले बताएका छन्।

उनले भने, "कतार एयरवेजले विहान खाने व्यवस्था गरेको थियो, यात्रुलाई ट्रान्जिट खालको खुल्ला ठाउँमा राखेको छ, उनीहरुको बसाइचाहिँ अलि कठिनाइ नै देखिन्छ र यो भन्दा बढी समस्या चाहिँ आबुदाबी एयरपोर्टमा भएको सुनिन आएको छ।"

विमानस्थल अवरुद्ध हुँदा मलेसियाबाट घर फर्कने क्रममा रहेका कामदारहरु राजधानी क्वालालम्पुर स्थित नेपाली होटलहरुमा बसिरहेको अधिकारीहरुले जनाएका छन्।

अन्यौल

तर तेश्रो देशबाट उडान गरी त्यहाँ ट्रान्जिट भएका झन्डै ८० यात्रुहरुले समस्या झेल्नुपरिरहेको मलेसियाका लागी नेपाली राजदुत निरन्जन मान सिंह बस्न्यातले बीबीसीलाई बताए।

उनले भने, "मैले मलेशियन एयरलाईन्ससँग कुरा गरिरहेको छु तर उनीहरुले अन्तर्राष्ट्रिय नियम अनुसार दुईदिन भन्दा हामीले तिर्न सक्दैनौं, यो तिमीहरुकै एयरपोर्टमा यस्तो समस्या देखिएको हो भनिरहेका छन्।"

अलपत्र यात्रुहरुको गुनासो बढीरहदाँ भारतबाट झिकाइएको प्राविधिक टोली र उनीहरुले ल्याएका उपकरणले घाँसमा जोतिएको विमानको अघिल्लो भागलाई पर्याप्त मात्रामा अझै उचाल्न नसकि रहेको अधिकारीहरुले बताए।

त्यसो गर्न नसकिए सम्म कहिलेदेखि विमानस्थल खुलाउन सकिन्छ भन्ने बारे एकिन गर्न नसकिने नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले बताए।

उनले भने, "एकपछि अर्को समस्या देखिरहेकोले शनिबार विहान १० बजेसम्मको लागि बन्द गरेका छौं, हामीसँग अर्को कुनै जवाफ छैन कि हामी कतिबेला खोल्न सक्छौं।"

त्यसै पनि अन्तराष्ट्रीय रुपमा शाख गुमाएको त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा देखिएको यो पछिल्लो स्थितीले उड्ययन व्यवस्थापनमा व्यापक सुधार ल्याउन नसके नेपाल थप बदनाम हुँदै जाने देखिन्छ।