सिआइएमा आमूल पुनर्संरचनाको ‘तयारी’

  • 7 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption प्रविधिमा भएको विकासको सिआइएले फाइदा लिने उसका प्रमुख जोन ब्रेननले बताएका छन्

अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले साइबर आक्रमणको खतराको सामना गर्ने क्षमता अभिवृद्धिका लागि भन्दै आफ्नो इतिहासमै आमूल पुनर्संरचनाको तयारी गर्न लागिएको जनाएको छ।

कर्मचारीहरुलाई उपलब्ध गराएको विवरणमा सिआइए प्रमुख जोन ब्रेननले ठूलो स्तरमा आक्रमणको खतरा र प्रविधिमा भएको विकासको असरका कारण सांगठनिक परिवर्तन ल्याउन लागिएको बताएका छन्।

व्यवस्थापकरुमाथि अझ बढी जिम्मेवारी थप्ने र साइबर क्षमतामा वृद्धि गर्ने पुनर्संरचनाको उद्देश्य रहेको बताइएको छ।

अधिकारीहरुका अनुसार सबैभन्दा ठूलो परिवर्तन भनेको कारवाही सञ्चालन गर्ने र विश्लेषकहरुबीच रहेको विभाजनको अन्त्य हुनेछ।

सञ्चालन

कारवाही सञ्चालन गर्ने र गुप्तचर सूचना संकलन गरी त्यसको विश्लेषण गर्नेहरुको फरक-फरक विभाग र कार्यालयहरु रहिआएको छ।

नयाँ योजना अनुसार उनीहरुलाई एकसाथ १० वटा मिसन केन्द्रहरुमा ल्याइनेछ र प्रत्येक केन्द्रलाई सहायक निर्देशकले हेर्नेछन्।

हाल केही विभागहरुबीच मात्र त्यसरी सहकार्य हुँदै आएको बताइन्छ।

तस्वीर कपीराइट AFP
Image caption सेप्टेम्बर ११ को आक्रमणपछि सिआइए प्रतिआतंकवादमै केन्द्रित भएको आरोप छ

पछिल्लो दशकमा कारवाही गर्ने र गुप्तचर सूचना संकलन गर्नेहरु मिलेर काम गर्दै आएको प्रतिआतंकवाद केन्द्रमा मात्र हो।

पुनर्संरचना

आफ्नो विवरणमा सिआइए प्रमुखले साइबर आक्रमणको खतराबारे चर्चा गरेका छन्।

तर त्यससँगै प्रविधिमा भएको विकासले उक्त निकायका लागि भएका अवसरहरुबारे पनि उल्लेख गरिएको छ।

सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अन्य किसिमका खतराको सामना गर्ने सिआइएको क्षमतामा ह्रास आएको आलोचनाबीच उसले पुनर्संरचना गर्न लागेको बताइएको छ।