'आजदेखि अन्तर्राष्ट्रिय उडान हुने'

  • 7 मार्च 2015
तस्वीर कपीराइट EPA
Image caption अधिकारीहरुका अनुसार रात-दिनको प्रयासपछि टर्कीश विमानलाई चौथो दिन धावन मार्ग नजिकबाट हटाउन सकिएको हो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावन मार्ग नजिकै दुर्घट्नाग्रस्त भएर फसेको टर्कीश एयरलायन्सको विमानलाई त्यहाँबाट हटाउन सफलता मिलेको र अब चार दिनदेखि अवरुद्ध अन्तर्राष्ट्रिय उडान आजैदेखि खुला गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।

उक्त विमानलाई धावन मार्गमा ल्याइएपछि पत्रकार सम्मेलन गरी उड्डयन अधिकारीहरुले उक्त जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने, "उक्त विमानलाई धानव मार्गबाट पार्किङ्स्थलमा लगिदैछ, त्यसपछि अन्तर्राष्ट्रिय उडानहरु दिउँसो २ बजेपछि थाल्ने तयारीमा छौं।"

उनका अनुसार नेपालभित्र र बाहिर रहेका यात्रुहरुलाई गन्तब्यमा नपुर्याइन्जेल चौविसै घण्टा अन्तर्राष्ट्रिय उडानका निम्ति विमानस्थल खुला राखिने छ।

त्रिभुवन विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर बिमलेश लाल कर्णले बीबीसी नेपाली सेवासँग भने, "हामीले विमानलाई धानव मार्गमा ल्याएका छौं, ९० प्रतिशत सफलता मिलेको छ, आजैबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्छौं।"

प्रभावित

बुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउमा दुर्घटनाग्रस्त टर्कीश विमानलाई हटाउन नसकिएपछि शनिबार दिउँसो २ बजेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गरिएका थिए।

तस्वीर कपीराइट AFP
Image caption उडान अवरुद्ध हुँदा काठमाण्डू आउने र बाहिरिने हजारौं यात्रु प्रभावित भएका छन्

इस्तानबुलबाट काठमाण्डू आएको सो विमानमा क्षति पुगे पनि सवार सबै यात्रुहरुलाई विमानबाट सकुशल निकालिएको थियो।

चौथो दिन विहानसम्म पनि उडान नहुँदा हजारौंको संख्यामा काठमाण्डू आउने र विदेशिने यात्रु प्रभावित भएका छन्।

उड्डयन प्राधिकरणका अनुसार विदेश जाने २१ हजार यात्रु काठमाण्डूमा र उत्तिकै संख्यामा काठमाण्डू आउने यात्रु विदेशमा छन्।

काठमाण्डूमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय विमान अवतरण हुने र त्यति नै संख्यामा यहाँबाट उड्ने गर्छन्।