चार दिनदेखि अवरुद्ध विमानस्थल खुला

  • 7 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption चारदिनसम्म विमानस्थल अवरुद्ध हुँदा भएको आर्थिक घाटाबारे अहिलेसम्म कुनै अनुमान गर्न नसकिएको अधिकारीहरुले बताएका छन्

टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएपछि चार दिनयता अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार साँझबाट खुलेको अधिकारीहरुले बताएका छन्।

उक्त विमान बुधबारदेखि त्यहाँ फसेपछि आउने जाने गरि झन्डै ३ सय ५० वटा अन्तर्राष्ट्रिय विमानका उडानहरु प्रभावित भएका थिए।

त्यस्तै टिकट काटिसकेका ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी यात्रुहरु उडान रोकिँदा खर्च र समयका कारण अन्योलमा परेका थिए।

त्यस्तो अन्योलमाझ बिहीबार काठमाडौं आइपुगेको भारतको प्राविधिक टोलीसहित नेपाली सेना मिलेर फसिरहेको उक्त विमानलाई घाँसे मैदानबाट हटाएर घरेलु विमानहरु उड्ने क्षेत्रतर्फ थन्काइएको बताइएको छ।

खुल्यो

नागरिक उड्डयन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवन्धक पूर्ण चुँडालले भने, "विमान थन्काएपछि शनिबार राति साढे सात बजेबाट सबै सेवाहरु खुलेका छन्। अब हामी उडानहरु पुरानै अवस्थामा नआउँदासम्म २४ घन्टा नै सेवा खुल्ला गर्छौं।"

यात्रुहरुलाई अबको उडानबारे जानकारी दिन एयरलाईन्सहरुलाई खबर समेत गरिसकिएको जनाइएको छ।

समस्यामा नेपालभित्रमात्रै नभइ नेपाल भित्रने क्रममा रहेका यात्रुहरु पनि समस्यामा परेको बताइएको छ।

विशेषगरी पूर्वी एशिया र खाडी मुलुकमा काम गर्न गएका नेपालीहरु दोहालगायत आबुदाबी विमानस्थलमा अलपत्र अवस्थामा खानपिन र बसाइको कठिनाइमा रहेको बताइएको थियो।

विमानस्थल ठप्प हुँदा प्रभावित यात्रुहरुलाई कतिपय एयरलाइन्सले होटलमा राख्ने बन्दोबस्त गरे पनि कतिपयले भने यसमा आफ्नो कुनै भूमिका नभएको भन्दै पन्छिएको यात्रुहरुले गुनासो गरेका थिए।