वैदेशिक लगानीमा 'थ्रेसहोल्ड' नराखिने

  • 9 मार्च 2015
तस्वीर कपीराइट FNCCI
Image caption नेपालीहरुले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई व्यवसायीहरुले स्वागत गरेका छन्

सरकारले नेपालीहरुले पनि विदेशमा लगानी गर्न पाउने व्यवस्थासहितको ऐनको मस्यौदा अघि बढाएको जनाएको छ।

नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने भए पनि अवैध ढंगबाट लगानी गईरहेको भन्दै यसलाई व्यवस्थित गर्न ऐन ल्याउन लागिएको उसको भनाई छ।

सरकारको यो निर्णयलाई व्यवसायीहरुले स्वागत गरेका छन्।

नेपालीहरुलाई विदेशमा लगानी गर्न दिने खुकुलो व्यवस्थासहितको विदेशी लगानी नीति एक साताअघि मन्त्रिपरिषद्ले परित गरिसकेको छ।

हस्तान्तरण

उक्त नीतिलाई मार्गदर्शन मानेर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा तयार गरिएको उद्योगमन्त्री महेश बस्नेतले बताए।

संसदको आगामी वर्षे अधिवेशनमा प्रस्तुत गरिने तयारी गरिएको उक्त ऐनले थ्रेसहोल्ड अर्थात लगानीको सीमा नतोक्ने मन्त्री बस्नेतले बताए।

उक्त ऐन लागू भएपछि नेपालीले विदेशमा जतिपनि लगानी गर्न पाउने छन् भने विदेशीले ५० हजार डलर मात्रै लगानी गर्न पाउने विद्यमान प्रावधान पनि हट्नेछ।

शेयर बजार र धितोपत्रबारे विद्यमान अस्पष्टतालाई हटाउँदै यस्तो लगानीलाई पनि सहज तुल्याइने मन्त्री बस्नेतको भनाई छ।

उनले भने, “विदेशी लगानी नेपाल आउँदा र नेपाली लगानी विदेश जाँदा लगानीको सीमा राख्ने कुरालाई यो ऐनमा राखेनौँ, दोस्रो बजारको रुपमा शेयर बजार र धितोपत्रमा लगानी गर्न पाउने व्यवस्था पनि खुला गरेका छौँ।”

स्वागत

विदेशमा नेपालीहरुले लगानी गर्न प्रतिबन्ध लगाइएपनि लगानी विदेशीने गरेको अधिकारीहरु र व्यवसायीहरु स्वयम् स्वीकार्छन्।

अवैध तरिकाले नेपाली लगानी विदेशिदा त्यसले कमाएको मुनाफा र साउँ पुँजी फर्काउन कानुनी आधार समेत नभएको हुँदा मुलुकले नै घाटा व्यहोर्नु परिरहेको व्यवसायीहरुको तर्क छ।

सरकारले ऐन ल्याउन गरेको तयारीलाई व्यवसायीहरुले स्वागत गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले भने, “यदि वैधानिक रुपमा लगानी लैजान सकियो भने त्यसको लाभांश पनि ल्याउन सकिन्छ, उद्योग बन्द गरेर लगानी फिर्ता ल्याउनुपर्यो भने पनि त्यसो गर्न सकिन्छ, अवैधानिक तरिकाले गयो भने ल्याउन सकिन्न, त्यसैले म यो ऐनको स्वागत गर्छु।”

अवैध ढंगले आर्जन गरिएका र स्रोत नखुलेका सम्पत्तिलाई विदेशमा लगानीको रुपमा जान नदिन नेपाल राष्ट्र बैंकले नियमन गर्ने अधिकारीहरुको भनाई छ।