एमाओवादीले समितिका बैठक बहिष्कार 'नगर्ने'

  • 8 मार्च 2015
Image caption विपक्षीहरुको बहिष्कारका कारण संसदीय समितिहरुको बैठक प्रभावित भएको बताइन्छ

करिब डेढ महिनापछि सत्तारुढ दलहरुसँग औपचारिक वार्ता शुरु गरेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले आगामी दिनमा संसदीय समितिहरुमा समेत सहभागिता जनाउने निर्णय गरेको छ।

संविधानका विवादित विषयहरुका प्रश्नावली बनाउने समिति गठन भएयता सरकारलाई असहयोग गर्ने भन्दै एकीकृत माओवादीले संसदीय समितिका बैठकहरु बहिष्कार गर्दै आएको थियो।

सत्तारुढ दलहरुसँग संविधान निर्माण प्रक्रियामा तिक्तता बढेसँगै संसदीय समितिका बैठकहरु पनि बहिष्कार गरेको एकीकृत माओवादी झण्डै डेढ महिनापछि ती समितिहरुमा फर्कने भएको छ।

संसदका १४ वटा समितिमध्ये दुईवटामा एकीकृत माओवादीका सभापति छन् भने थप अरु दुई समितिमा प्रतिपक्षी मोर्चाकै सभापति छन्।

बहिष्कार

एकीकृत माओवादी सहितका प्रतिपक्षी दलहरुको बहिष्कारसँगै एउटा बाहेक समितिहरुको बैठकनै बस्न सकेको छैन् भने अन्य समितिहरुमा पनि मोर्चा सम्बद्ध सांसदहरु उपस्थित भएका छैनन्।

तर अब आगामी दिनमा संविधानसभाको विवादको छायाँ संसदमा पर्न नदिनका लागि आफूहरुले पछिल्लो निर्णय गरेको बताउँछन्,एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ।

उनले भने, “वार्ता सफल हुन सकेन भने पनि संविधानसभाभित्रको बहुमतीय प्रक्रियामा सहभागी हुँदैनौँ, तर संसदीय समितिहरुको बैठकमा भाग नलिने कुरा अब हुँदैन।”

तस्वीर कपीराइट bbc
Image caption मोर्चाका प्रवक्ताले बैठकमा सहभागी हुने विषयमा निर्णय गर्न बाँकी रहेको बताएका छन्

सरकारलाई खबरदारी गर्ने ठानिएका संसदीय समितिहरुमा अनुपस्थित भएर विपक्षी दलहरुले सरकारलाई नै सहयोग गरेको भन्दै आलोचना पनि भएका थिए।

मत्थर

एकीकृत माओवादीको पछिल्लो निर्णयले त्यस्तो आलोचनालाई मत्थर पार्ने ठानिएको छ तर उसले त्यसबारे आफ्नै मोर्चाभित्र छलफल नगरेको जस्तो देखिन्छ।

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंह भन्छन्, “उहाँहरुले त्यस्तो निर्णय गर्नुभएको हो, मोर्चाले त्यसबारे कुनै निर्णय गरिसकेको छैन्।”

यद्यपि आईबार बस्ने मोर्चाको बैठकले संसदीय क्रियाकलापमा भाग लिनेबारे साझा धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन्।