हेलिकप्टर दुर्घटनाबारे फ्रान्समा छानबिन सुरु

  • 10 मार्च 2015
तस्वीर कपीराइट
Image caption मृतकहरु प्रति फ्रान्स र विदेशबाट पनि ठूलो संख्यामा समवेदना सन्देशहरु व्यक्त भइरहेका छन्।

फ्रान्सका मजीस्ट्रेटहरुले अर्जेन्टीनामा एउटा रियालिटी टेलीभिजन कार्यक्रम निर्माणका क्रममा दश जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेका छन्।

दुईवटा हेलिकप्टरहरु जुधेर भएको दुर्घटनामा मारिनेहरु मध्ये तीनजना फ्रान्सेली खेलकुद जगतका प्रमुख खेलाडीहरु पनि छन्।

राष्ट्रपति फ्रांस्वा ओलाण्डले उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

उक्त दुर्घटनामा तीनजना चर्चीत फ्रान्सेली खेलाडीहरु मारिएको फ्रान्सको राष्ट्रपति कार्यालयले पुष्टि गरेको थियो।

समवेदना

अर्जेन्टीनामा एउटा टेलिभिजन कार्यक्रमको छायांकन गर्ने क्रममा दुईवटा हेलिकप्टरहरु आपसमा जुध्दा आठजना फ्रान्सेली नागरिक र ती हेलीक्प्टहरुका दुईजना अर्जेन्टीनी पाइलटहरु मारिएका थिए।

फ्रान्सको एउटा टेलिभिजन च्यानल टीएफ वान मा प्रसारण हुने एउटा रियालिटी टेलिभिजन कार्यक्रम “ड्रप्ड” मा, विभिन्न विधाका चर्चित ब्यक्तित्वहरुलाई हेलिकप्टर मार्फत अति दुर्गम क्षेत्रहरुमा पुर्याइएपछि, तिनीहरुले त्यहां खानेकुरा र सुरक्षित बासको बन्दोबस्त कसरी गर्दा रहेछन् भन्ने कुरा देखाउने गरिन्छ।

फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले एक बक्तव्य जारी गर्दै, फ्रान्सेली नागरिकहरुको अचानक र असामयिक निधन हुन गएकोबाट आफूलाई एकदमै दु:ख लागेको बताएका छन्।

उक्त हेलिकप्टर दुर्घटना के कारणले हुन गयो भन्ने बारेमा स्पष्ट भैसकेको छैन र त्यसबारे अनुसन्धान जारी रहेको छ।

अनुसन्धान

हेलिकप्टर दुर्घटना हुँदा उक्त कार्यक्रमका अन्य सहभागीहरु कार्यक्रमको नियम अनुसार आँखामा पट्टी बांधिएको अवस्थामा जमीनमा रहेका, फ्रान्सेली संचार माध्यमले जनाएका छन्।

फ्रान्सका सरकारी वकिलहरुले अब यो मृत्युको घटनाका सम्बन्धमा अनुसन्धान आरम्भ गरेका छन्।

जुन आफ्नो देशका नागरिकको विदेशमा मृत्यु भएको अवस्थामा गरिने नियमित प्रकृया हो।

मृतकहरु प्रति फ्रान्स र विदेशबाट पनि ठूलो संख्यामा समवेदना संदेशहरु व्यक्त भैरहेका छन्।