'सत्तापक्ष आफ्ना अडानमा हेरफेर गर्न तयार'

  • 12 मार्च 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption सत्तापक्ष र विपक्षी दलहरुबीचको विवादका कारण झन्डै एक महिना देखी संविधानसभाको बैठक बस्न सकेको छैन

सत्तापक्षीय दलहरुले आगामी जेठ १५ गते भित्र नयाँ संविधान जारी गर्ने गरी एकीकृत माओवादीको विपक्षी मोर्चासँग निर्णायक वार्ता गर्ने बताएका छन्।

सहमतिका लागी विपक्षी मोर्चा लचक भएर आए आफूहरुले संविधान निर्माण बारे ल्याएको साझा ९ बुँदे धारणामा पनि हेरफेर गर्न तयार रहेको सत्तापक्षीय नेताहरुले बताएका छन्।

बिहीबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँग अनौपचारिक छलफल गरेका थिए।

शनिबारसम्म सहमति नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपर्ने कतिपय विपक्षी मोर्चाका नेताहरुले बताउँदै आएका बेला त्यस्तो भेटघाट भएको हो।

सहमति

आन्दोलन स्थगित गरी वार्तामा केन्द्रित हुने आफ्नो निर्णयप्रति सत्ताधारी दलहरु गम्भीर नभएको आरोप विपक्षी मोर्चाले लगाइरहँदा बिहीबार बिहान नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त बैठक बसेको थियो।

दलहरुबीच सहमति नभए संविधानसभाको प्रकृयालाई अनन्तकालसम्म स्थगित गर्न नसकिने भन्दै दुई दलले जेठ १५ गते संविधान जारी गर्ने गरी विपक्षी मोर्चासँग सहमति कायम गर्न कोशिश गरिने बताएका छन्।

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले जेठ १५ सम्ममा संविधान जारी गर्नेमा सत्तापक्ष र विपक्षी दलहरुबीच खासै विमती नभएको बताए।

उनले भने, “जेठ १५ गते संविधान जारी गर्नका निम्ति कसरी लचक हुन सकिन्छ भनेर विपक्षी मोर्चाले भन्नुप-यो, उनीहरु तयार हुने हो भने विषयवस्तुमा सहमति गर्न त्यति गाह्रो छैन।”

सतारुढ दलहरुले एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चालाई सहमतिका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गर्ने तयारी गरेका छन्।

अडान

संविधान जारी गर्न प्रतिबद्धता जनाइएको माघ ८ गतेको समयसीमा गुज्रनु अघि विपक्षी मोर्चाका एकजना नेताबाट संघीयता बाहेकका विषयमा सहमति गरी मस्यौदा समितिमा पठाउने भनी प्रस्तुत गरिएको विकल्पबाट सहमति खोज्न सकिने सत्तारुढ दलहरुको धारणा रहेको छ।

सहमतिका लागी सात प्रदेश सहितको आफूहरुको संयुक्त ९ बुँदे प्रस्तावमा पनि हेरफेर गर्न आफूहरु तयार रहने नेपाली काँग्रेसका नेता रमेश लेखकले बताए।

उनले भने, “हामी आफ्नो ९ बुँदे प्रस्तावमा लचिलो भएर अघि बढ्न चाहिरहेका छौँ। तर यदि सहमति गरेर निष्कर्षमा पुग्न सक्दैनौँ भने कमसेकम प्रकृयाबाट अघि बढ्न सबै तयार हुनुपर्छ।”

बिहीबार साँझ एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल वार्तालाई निरन्तरता दिँदै सहमतिका लागि अधिकतम प्रयत्न गर्ने भन्दै टुङ्गिएको छ।

शनिबारसम्म सहमति नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने विपक्षी मोर्चाका नेताहरुले बताउँदै आएका छन्।

संविधानसभाको बैठक अनिश्चितकालकालागि स्थगित भएको झण्डै एक महिना बितीसक्दा पनि सत्तापक्ष र विपक्षी मोर्चाबीचको छलफल परिणाममुखी हुने ठोस संकेत भने देखिएको छैन।