सिरियाली संकटः सुरक्षा परिषद्को आलोचना

  • 12 मार्च 2015
तस्वीर कपीराइट BBC World Service
Image caption विस्थापित ४८ लाख मानिसहरुसँगको पहुँच कठिन भएको प्रतिवेदनमा उल्लेख छ

सिरियाली द्वन्द्वको चपेटामा परेका सर्वसाधारणलाई सहयोग गर्नेसम्बन्धी आफ्नै संकल्प प्रस्ताव कार्यान्वयन गर्न राष्ट्रसंघीय सुरक्षा परिषद् असफल भएको भन्दै २१ वटा सहायता संस्थाहरुको एउटा समूहले आलोचना गरेको छ।

सेभ दि चिल्ड्रेन र अक्सफामसहितका सहायता संस्थाहरु सम्मिलित उक्त समूहले गत वर्ष सिरियाली युद्ध सबैभन्दा बढी हिंसात्मक र नागरिकहरुका लागि निकै नराम्रो रहेको जनाएको छ।

सिरियाली द्वन्द्व चार वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ।

मानवीय सहायतासम्बन्धी अर्को एउटा प्रतिवेदनले सन् २०११ को मार्चमा सिरियामा द्वन्द्व शुरु भएपछि ८३ प्रतिशत विद्युत काटिएको उल्लेख गरेको छ।

दीर्घकालीन

राष्ट्रसंघीय महासचिव भन्छन्, राजनीति समाधान दीर्घकालीन उद्देश्य रहेको छ।

नर्वेली शरणार्थी परिषद्का महासचिव जान एगल्याण्डले भने, “तितो सत्य के हो भने आफ्नै संकल्प प्रस्तावहरु कार्यान्वयन गर्न सुरक्षा परिषद् विफल भएको छ।”

उनले थपे, “द्वन्द्वसँग जोडिएका पक्षहरुले दण्डहीनताका साथ काम गरिरहेको र सुरक्षा परिषद्का मागलाई बेवास्ता गरिएको छ, नागरिकहरुले सुरक्षा पाएका छैन् र राहत सामग्रीसम्म उनीहरुको पहुँचमा सुधार आएको छैन्।”

तस्वीर कपीराइट Reuters
Image caption जोर्डन लगायतका मुलुकहरुमा सिरियाली शरणार्थीहरुले शरण लिइरहेका छन्

सहायता संस्थाहरुको प्रतिवेदनअनुसार सन् २०१४ मा मात्रै सिरियामा ७६ हजार मानिसहरुको ज्यान गएको छ।

कठिनाई

सहायता चाहिएका ४८ लाख मानिसहरुसम्म पुग्न निकै कठिन रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

यो संख्या अघिल्लो वर्षको तुलनामा १० लाखले बढी भएको प्रतिवेदनले जनाएको छ।

सिरियन सेन्टर फर पोलिसिको राष्ट्रसंघ समर्थित एउटा छुट्टै प्रतिवेदनले गत चार वर्षदेखि सिरियामा जारी सशस्त्र द्वन्द्वका कारण अर्थतन्त्र तहसनहस भएको र सामाजिक विभाजन आएको र द्वन्द्वका कारण १ करोड मानिसहरु घर छाडेर अन्यत्र गएको जनाएको छ।

त्यस्तै द्वन्द्वका कारण मानिसहरुको औसत आयु २० वर्षले कम भएको उक्त प्रतिवेदनमा उल्लेख छ।