राप्रपा नेपाल-राप्रपाबीच एकीकरण वार्ता

  • 12 मार्च 2015
Image caption कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डामा कायम रहने बताएका छन्

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा पूर्णत विपरीत दृष्टिकोण रहेपनि चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र छैटौ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुबीच एकताको प्रबल संभावना रहेको बताएका छन्।

उनीहरुले एकताका लागि वार्ता टोलीहरु गठन गरेर औपचारिक रुपमै छलफल नै शुरु गरेका छन्।

संविधानसभा निर्वाचनअघि पनि यी दुई दलबीच एकता प्रयास नभएको होईन, तर ती प्रयास विफल भएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनपछि दुई फरक पार्टीका नेता बनेका राप्रपा नेपाल र राप्रपाका वार्ता टोलीका सदस्यहरु पार्टी विभाजनको १० वर्षपछि फेरि पार्टी एकताको विषयमा छलफल गर्न बुधवार एकसाथ बसेका थिए।

आशावादी

जुन छलफलले एकताबारे आफुहरुलाई आशावादी बनाएको बताउँछन् राप्रपाका वार्ता समितिका संयोजम एवंम महामन्त्री दीपक बोहरा।

उनले भने, “दुवै पक्षका वार्ता टोलीहरुबाट बृहत् उद्देश्य प्राप्त गर्नका लागि शुरु गरिएको वार्तामा पूर्वशर्त राखेर अगाडि बढ्नुहुन्न भन्ने कुरा आएकोले त्यसले एउटा बाटो खोलेको छ।”

दोस्रो संविधानसभाको निर्वाचनअघि पनि एकताका विषयमा यी दुई पार्टीबीच छलफल भएको थियो।

तर विविध विषयमा कुरा मिल्न नसकेपछि उनीहरु छुट्टा-छ्ट्टै निर्वाचनमा लडेका थिए।

राजतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा ती दुई दलबीच फरक-फरक धारणा रहिआएका छन्।

मतभेद

वैचारिक मतभेद रहेपनि प्रजातान्त्रिक वैकल्पिक शक्ति निर्माणको आवश्यकता टड्कारो बनेकाले आफूहरुबीच सम्झौता हुने संभावना बढेको राप्रपा नेपालका वार्ता समितिका सदस्य एवंम सहमहामन्त्री राजराम श्रेष्ठको भनाई छ।

उनले भने, “राष्ट्रवादी प्रजातन्त्रवादी शक्ति निर्माणका क्रममा पार्टीको स्वार्थभन्दा माथि उठेर सोच्नुपर्छ भन्ने मान्यतमा हामी अडिग रहेको कारणले एउटा मिलनबिन्दु निस्किन्छ भन्ने विश्वास भएर लागिरहेका छौँ।”

धर्मनिरपेक्षता र संघीयताका विषयमा शीर्ष तहमा सहमित जुटिसकेको र राजतन्त्र, गणतन्त्रका विषयमा पनि नयाँ विकल्पको नजिक रहेको कतिपय नेताहरुले दाबी गरेका छन्।

तर पार्टी एकता विषयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाइ छोडेर नभई राष्ट्रियता, प्रजातन्त्र र उदारवादको जगमा नयाँ शक्ति बनाउन राप्रपासँग एकताको प्रयास भएको बताएका छन्।