चक्रवातका कारण भानुआतु 'ध्वस्त'

  • 14 मार्च 2015

प्याम नामक चक्रवातले दक्षिण प्रशान्त महासागरमा अवस्थित देश भानुआतुलाई नराम्ररी प्रभावित तुल्याएको छ।

सहायता निकायहरुले द्वीपहरुको समूह उक्त मुलुक चक्रवातबाट पूर्ण रुपमा ध्वस्त भएको बताएका छन्।

राजधानी पोर्ट भिलामा घरहरु ध्वस्त भएका छन् र मानिसहरु सहायताका लागि सडकमा भौतारिरहेको सेभ द चिल्ड्रेनका एकजना अधिकारीले बताए।

ती अधिकारी टम स्किरोवले हालसम्म आठ जना मानिसको ज्यान गएको पुष्टि भएको बताएका छन्।

ठूलो क्षति

राष्ट्रसंघीय निकायहरुले दर्जनौं मानिसको ज्यान गएको जनाएका छन्।

राष्ट्रसंघले उक्त चक्रवातबाट भएको क्षति प्रशान्त क्षेत्रको इतिहासकै सबैभन्दा नराम्रो प्राकृतिक प्रकोप हुनसक्ने बताएको छ।

भानुआतुका राष्ट्रपतिले आफू अत्यन्तै दु:खित भएको भन्दै सहयोगका लागि अपील गरेका छन्।

उक्त चक्रवातमा २ सय ७० किलोमिटर प्रतिघण्टा रफ्तारमा हावा चलेको थियो र मूसलधारे वर्षा पनि भएको थियो।

६५ वटा साना द्वीपले बनेको भानुआतुमा २ लाख ६७ हजार मानिसहरु बस्छन्।

उक्त मुलुकको सबै छ प्रान्तहरुमा खतराको चेतावनी जारी गरिएको छ र मानिसहरुलाई तुरुन्तै सुरक्षित वास खोज्न जान भनिएको छ।