पाकिस्तानमा बम हमलामा १४ जनाको मृत्यु

  • 15 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption पाकिस्तानका इसाइहरु बारम्बार अतिवादीहरुको आक्रमणको निशानामा पर्ने गरेका छन्।

पाकिस्तानको लाहोरमा दुईवटा भीडभाडयुक्त गिर्जाघरमा आत्माघाती बम हमलाकारीले आक्रमण गर्दा कम्तीमा १४ जनाको ज्यान गएको छ।

७० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।

पाकिस्तान तालेवानको शाखा जमतुल अहरारले उक्त आक्रमण आफूले गराएको बताएको छ।

उक्त आक्रमण लाहोरको बाहिरी भागमा पर्ने योहानावादका गिर्जाघरहरुमा आइतबारको प्रार्थनाका क्रममा भएको थियो।

प्रदर्शन

उक्त स्थानमा पाकिस्तानको सबैभन्दा ठूलो इसाइ समुदाय बसोवास गर्छ।

उक्त आक्रमणपछि आक्रोशित समूहले सडकमा प्रदर्शन गर्नुका साथै आक्रमणसंग सम्बन्धित भएको भन्दै दुई जनालाई कुटेर मारेको थियो।

पाकिस्तानी तालिवानको शाखा जमातुल अहरारले गिर्जाघर आक्रमणमा आफू संलग्न रहेको बताएको छ।

प्रत्यक्षदर्शीहरुले आत्माघाती आक्रमणकारीहरुले गिर्जाघरमा हमला गरेको बताए पनि प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन।

निन्दा

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनुन हुसेनले पछिल्लो आक्रमणको निन्दा गरेका छन्।

लाहोर पाकिस्तानका अन्य स्थानका तुलानामा शान्त मानिन्थ्यो।तर पछिल्लो आक्रमणसंगै त्यो अवस्थाको पनि अन्त्य भएको छ।

पेशावरमा सन् २०१३ मा गिर्जाघरमा भएको आक्रमणमा कम्तीमा ८० जनाको ज्यान गएको थियो।

पाकिस्तानको कुल जनसंख्याको दुई प्रतिशत इसाइहरु छन्।