कर्णाली राजमार्गमा दुर्घटना हुँदा १८ को मृत्यू

  • 16 मार्च 2015
Image caption सडक बने पनि त्यसको निरन्तर मर्मत नहुनु, पुरानो गाडी र परिपक्व चालक नहुँदा यस्ता दुर्घटना वर्षेनी हुने गरेको त्यहाँका वासिन्दाको गुनासो छ।

जुम्लाको रारालिहीमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ।

गम्भीर चोटपटक लागेका तीनजनालाई थप उपचारका निम्ति नेपालगञ्ज पठाइएको छ।

उक्त बसमा ३२ जना सवार रहेको बताइएको छ।

जुम्ला सदरमुकाम देखि झण्डै २४ किलोमिटर पर रारालिहीमा ना ४ ख ४९७० नम्बरको यात्रुवाहक बस पल्टिँदा एकजना दूधे बालक सहित १८ जनाको मृत्यु भएको हो।

अनुसन्धान

उक्त बस सडकदेखि झण्डै २ सय मिटर तल तीला नदीमा खस्दा १३ जनाको घटनास्थलमै र ४ जनाको उपचारका निम्ति अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

चालक, सहचालकको समेत मृत्यु भएकाले दुर्घटनाको खास कारण के हो भन्ने पत्ता नलागे पनि प्रारम्भिक अनुसन्धानले गाडी पुरानो हुनु र स्टेरिङमा खराबी आएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले व्यक्त गरे।

उनले भने, "बन्दै गरेको बाटो छ, घटना हेर्दा बसको स्टेरिङले काम नगरेर दुर्घटना भएको हो कि भन्ने हाम्रो अनुमान छ।"

जुम्लादेखि सुर्खेतसम्म २ सय ३२ किलोमिटर लम्बाइ रहेको कर्णाली राजमार्गका विभिन्न सडक खण्डमा सवारी संचालनमा आए यता थुप्रै दुर्घटनाहरु भएका छन्।

२०६३ सालमा ट्रयाक खोलिएको उक्त राजमार्गको कालिकोट खण्डमा २०६६ र त्यसको १ बर्षपछि जुम्ला खण्डमा यात्रुवाहक बसहरु संचालन आएका थिए।

सावधानी

त्यस यता झण्डै डेढ सय गाडीहरुको दुर्घटना भएको र ती दुर्घटनाहरुमा दुई सयजना भन्दा बढीको ज्यान गइसकेको अभिलेख छ।

अबका दिनमा यातायात व्यवसायीसंगको छलफलमा दुर्घटना न्यूनिकरणको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

उनले भने, "गाडी धनीहरुलाइ गाडीको स्थिति र ड्राइभर कस्तो छ हेर्न निर्देशन दिँदै अबका दिनमा दुर्घटना नहुनका लागि विशेष छलफल गरेर हामी सावधानी अपनाउनेछौं।"

नाम राजमार्ग भनिए पनि बाटा निकै साँघुरो हुनु, त्यसमा सहचालकले गाडी चलाउनु, अधिकांश पुराना तथा थोत्रा गाडीहरु यो खण्डमा संचालन हुनुले पनि दुर्घटना बढी हुने गरेको स्थानीयवासीको गुनासो छ।

यसभन्दा पहिले यो सडक खण्डमा भएका ठूला दुर्घटनापछि यो रुटमा गाडीहरु संचालनमा ल्याउँदा गाडीहरुको गुणस्तर, यात्रु संख्या, गाडीको रफ्तार जस्ता कुराहरुमा कडाइका साथ अनुगमन गरिने भनिएको थियो।