वार्ता प्रगतिबारे सभाध्यक्षले दलहरुलाई सोध्ने

  • 17 मार्च 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption सत्तापक्षीय दलहरु आफ्नो पुरानै अडानमा रहेको भन्दै विपक्षी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बुधबार प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलपछि झन्डै एक महिना यता स्थगित संविधानसभाको बैठक बोलाउनेबारे निर्णय लिने बताएका छन्।

विपक्षी मोर्चाले वार्ताको वातावरण नरहेको भन्दै आन्दोलनको घोषणा गरेपछि सत्तापक्षीय दलले तत्काल संविधानसभाको बैठक राख्न सभाध्यक्षलाई दबाब दिंदै आएका बताइएको छ।

हालसम्म वार्तामा भएका प्रगतिका बारेमा शीर्ष नेताहरुबाटै सुनेर आफूले निर्णय लिने संविधानसभाका अध्यक्षले बीबीसीलाई बताए।

दलहरु बीचको वार्ताबाट सहमति निस्कन्छ भन्ने आशामा बसेका नेम्वाङलाई विपक्षी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि संविधानसभाको बैठक तत्कालै अघि बढाउन दबाब परिरहेको बताइएको छ।

बाटो

विपक्षी मोर्चा र सत्तापक्षीय दलहरु बीच वार्ताको वातावरण बनाउन संविधानसभाको बैठक स्थगित गरेको एक महिना तीन दिनसम्म दलहरुका बीचमा कुनै सहमति नभए पछि सभाध्यक्ष नेम्वाङले मंगलबार शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

शीर्ष नेताहरुको कुरा सुनेर संविधानसभाको बैठक बोलाउनेबारे निर्णय लिने सभाध्यक्ष नेम्वाङले बताए।

उनले भने "अब संवाद हुन्छ कि हुँदैन, संवादबाट निष्कर्ष निस्किन्छ कि निस्किंदैन, तपाईहरु कुन ठाँउमा पुग्नु भयो, तपाईहरु भन्नुहोस, त्यसैका आधारमा संविधानसभाले आफ्नो बाटो तय गर्छ। म उहाँहरुलाई यहि कुरा राख्छु?"

अनौपचारिक कुराकानीमा संविधानसभाको प्रक्रिया अघि नबढाउन विपक्षीमोर्चाका तर्फबाट अहिले पनि आग्रह भइरहेको र सत्तापक्ष लगायतका दलहरुले प्रक्रिया बढाउन भनिरेहको उनले बताए।

भुमिका

यसअघि मंगलबार दलका प्रमुख सचेतकहरुलाई बोलाएर नेम्वाङले संविधानसभाको बैठक अनन्तकालसम्म यसरी नै स्थगित गरेर राख्न नमिल्ने बताएका थिए।

गएको माघमा बहुमतीय प्रकृयाबाट प्रश्नावली समिति निर्माण गर्ने सभाध्यक्षको कदमको चर्को विरोध गरिरहेको एकीकृत माओवादीले, नेम्वाङले पछिल्लोपटक सुरु गरेको संवाद पहलको भने स्वागत गरेको छ।

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले भने "सभामुखकै संस्थागत भुमिकाको कोणबाट ती प्रश्नहरु गर्न जायज छ र ती प्रश्नहरुले निश्चित रुपमा नेताहरुलाई नजिक ल्याउन एउटा भुमिका खेल्छ भन्ने मलाई लाग्छ।"

यसअघि आफूलाई उपेक्षा गर्दै प्रकृया अघि बढाइएको भन्दै संविधानसभाको बैठक बहिस्कार गर्दै आएका विपक्षी दलहरुले संविधानसभाका अध्यक्षले बुधबार बोलाएको बैठकमा आफूहरु सहभागी हुने बताएका छन्।