प्यालेस्टिनी राज्य बन्न दिन्नः नेतन्याहु

  • 17 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption जनमत सर्वेक्षणहरुले नेतन्याहुको लिकूड पार्टी विपक्षी गठबन्धनभन्दा पछाडि रहेको देखाएका छन्

आमनिर्वाचनको पूर्वसंध्यामा बोल्दै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफू पुनर्निर्वाचित भए प्यालेस्टिनी राज्य बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

इजरेलमा मंगलबार आमनिर्वाचन हुँदैछ।

जनमत सर्वेक्षणले मध्य वामपन्थी दलहरुको गठबन्धन जायनिस्ट युनियनभन्दा आफ्नो दल लिकूड पार्टीलाई पछाडि देखाएपछि समर्थन जुटाउन नेतन्याहु प्रयासरत छन्।

उक्त गठबन्धनले प्यालेस्टाइन र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुधार्ने वाचा गरेको छ।

आक्रमण

तर कुनै पनि पक्षले एक चौथाईभन्दा बढी मत ल्याउन नसक्ने अनुमान गरिएको छ।

प्यालेस्टाइनलाई भूभाग छोड्नु भनेको इस्लामवादीहरुद्वारा आक्रमणका निम्ति इजरेललाई खुला छोड्नुसरह हुने नेतन्याहुको भनाई थियो।

एनआरजी न्युज वेभसाइटलाई उनले भने, “जसले यो कुरा अस्वीकार गर्छ, उसले आफ्नो टाउको बालुवामा पुरिरहेको हुन्छ, वामपन्थीले त्यसो गरिरहेको छ, उसले आफ्नो टाउको पटक-पटक बालुवामा पुरिरहेको छ।”

उसो भए नेतन्याहु पुनर्निर्वाचित भए प्यालेस्टिनी राज्यको स्थापना हुन सक्दैन भन्ने जिज्ञासामा उनले भने, “बिल्कुलै।”

तस्वीर कपीराइट Getty
Image caption निर्वाचनमा कुनै पनि पक्षले एक चौथाईभन्दा बढी मत ल्याउन नसक्ने अनुमान गरिएको छ

सन् २००९ मा प्यालेस्टिनी राज्य स्थापना गर्ने योजनालाई उनले सशर्त समर्थन गरेका थिए।

मान्यता

सैनिकविहीन बनाइए र प्यालेस्टिनीहरुले इजरेललाई मान्यता दिए उक्त योजनालाई सघाउने उनको भनाई थियो।

सप्ताहन्तअघि प्रकाशित जनमत सर्वेक्षणहरुले जाएनिस्ट युनियनले अधिकांश सीट जित्न सक्ने देखाएका थिए।

संवाददाताहरु भन्छन्-निर्वाचनपछि नयाँ गठबन्धन सरकार गठनका निम्ति लम्बेतान वार्ता चल्न सक्छ।

पूर्वी जेरुसलेमको बस्तीमा सोमबार बोल्दै नेतन्याहुले उक्त शहरको सुरक्षाको सुनिश्चिता गर्न सक्ने व्यक्ति आफू मात्र भएको दाबी गरे।