आरोहणका लागि नयाँ सरकारी तयारी

  • 19 मार्च 2015
तस्वीर कपीराइट Getty
Image caption जलवायु परिवर्तनको असरले हिमपहिरोको खतरा बढ्ने अनुमान विज्ञहरुको छ

अघिल्लो वर्ष सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी १६ जना शेर्पाहरुको ज्यान गएपछि सरकारले सुरक्षाका लागि भन्दै यो वर्ष सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय स्थापना गर्ने जनाएको छ।

त्यसबाहेक अघिल्लो वर्ष अनुमति लिएर पनि उक्त भयावह घटनापछि सगरमाथा नचढी फर्किएकाहरुको हकमा उनीहरुले चाहेकै समय र समूहमा जान सक्ने गरी नियमावली संशोधन भइरहेको पर्यटन विभागले जनाएको छ।

गत वर्षको उक्त घटनासँगै शेर्पाहरुको मागपछि सरकारले उनीहरुको जीवन बिमाका लागि दिइँदै आएको १० लाख रुपैँयालाई १५ लाख पुर्याएको छ।

हिमाल आरोहणको इतिहासमै विनाशकारी मानिएको गत वैशाखको उक्त हिमपहिरोको घटनापछि भरिया र पथप्रदर्शकको काम गर्ने शेर्पाहरुको हकहित र आरोहण दलको सुरक्षाको विषयमा थुप्रै आवाजहरु उठेको थियो।

तयारी

ज्यानै माया मारेर उक्त पेशा नगर्न परिवारले दबाब दिएको भन्दै शेर्पाहरुले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखेका थिए।

त्यसका लागि अघिल्लो वर्ष जनाएको प्रतिबद्धता अनुसार आफूहरुले यो वर्षको सिजन शुरु हुन लाग्दा नयाँ व्यवस्था ल्याउन लागेको पर्यटन विभागले जनाएको छ।

विभागको पर्वतारोहण शाखाका निर्देशक पुष्प कटवालले भने, "यसपालिदेखि सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय राखी त्यहाँबाट निरन्तर सम्पर्कमा बस्ने र आवश्यकता अनुसार सुरक्षा दिने व्यवस्था गरिनेछ।"

उक्त घटनापछि अनुमति लिएका ३ सय ३४ जना विदेशी आरोहीहरु सगरमाथा नचढी आफ्नै देश फर्किएका थिए।

गुनासो

छुट्टाछुट्टै समूहमा अनुमति लिएकाहरुले उही समूहमा मात्रै पाँच वर्षभित्र आरोहण गर्न पाउने व्यवस्था पोहोर सरकारले गरेको थियो।

तर त्यही समूह मिलाउन अव्यवहारिक हुने भन्दै विरोध आएपछि सरकारले नियमावली संशोधन गरेर उनीहरुलाई पाँच वर्षभित्र पर्वतारोहणको समयमा आफूले रोजेको समूहबाट सगरमाथा चढ्ने प्रबन्ध मिलाउन लागिएको बताइएको छ।

निर्देशक कटवालले भने, "उहाँहरु जुनसुकै समूहमा जान सक्ने र आफ्नो समूहमा जोसुकैलाई राख्नसक्ने प्रस्ताव राखिएको छ अब १/२ दिनभित्र टुंगो लाग्छ।"

नेपालको सानका रुपमा हेरिने पर्वतारोहणको काममा सहभागी हुने झन्डै ९ हजार शेर्पाहरुको हकहितका विषय सरकारले यथेष्ट व्यवस्था गर्न नसकेको भन्दै वर्षेनी गुनासो हुने गरेको छ।