इजरेलमा नेतान्याहुको लिकुड पार्टी विजयी

  • 18 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption इजरेलको आम निर्वाचनमा लिकुड पार्टीले जीत हासिल गरेको छ

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु इजरेलको लगातार तेश्रोपटक र कुलमा चौथोपटक प्रधानमन्त्री बन्ने क्रममा पुगेका छन्।

उनको लिकुड पार्टीले आम निर्वाचनमा करिब २४ प्रतिशत मत प्राप्त गरेको छ।

उनको प्रमुख प्रतिस्पर्धी पार्टी मध्यमार्गी-वामपन्थी जायोनिष्ट युनियनले १९ प्रतिशत जति मत प्राप्त गरेको छ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले इजरेलको आमनिर्वाचनमा आश्चर्यजनक जीत हात पारेको इजरेली सन्चार माध्यमले जनाएका छन्।

टक्कर

अघिल्ला मत सर्वेक्षणहरुले मध्यमार्गी जायोनिष्ट युनियनसँग टक्कर हुने जनाएका थिए।

सबैजसो मत गणना भइसक्दा लिकुडले १ सय २० सदस्यीय संसदमा २९ सीट हात पार्न लागेको बताइएको छ।

यदि यो पुष्टि भयो भने नेतान्याहुले अर्को गठबन्धन सरकारको नेतृत्व गर्ने संकेत मिल्छ।

उनलाई सरकार बनाउन अरु पार्टीको सहयोग आवश्यक पर्नेछ।

मंगलबारको मतदान सम्पन्न भएपछि नेतान्याहुले उनका हर्षित समर्थकहरुलाई तेल अभिभमा संबोधन गर्दै आफुले अरु मध्यमार्गी-दक्षिणपन्थी दलहरुसँग तत्काल सरकार बनाउन कुराकानी थालिसकेको बताएका थिए।

गठबन्धन सरकार

उनले अनेकौं कठिनाइबीच परिणाम हात पारेको बताएका थिए।

बीबीसीका मध्य पूर्व संपादक जेरेमी बावेन भन्छन्- अन्त्यमा इजरेली मत सर्वेक्षण फेरि एकपटक गलत साबित भएका छन्।

नेतान्याहुले अब अन्य साना दक्षिणपन्थी दलहरुसँग मिलेर बलियो सरकार बनाउन खोज्नेछन्।

उनको निर्वाचन अभियान इजरेलको राष्ट्रिय सुरक्षामा केन्द्रित थियो र उनले स्वतन्त्र प्यालेस्टाइन राज्य बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

जायोनिष्ट युनियनका नेता इज्याक हेर्जोग सामाजिक र आर्थिक चासोमा केन्द्रित थिए।

चौथो पटक बनेमा नेतान्याहु इजरेलको इतिहासमा सबभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन्।