ट्युनिसियामा उग्रवादी हमलामा १९ को मृत्यु

  • 18 मार्च 2015
ट्युनिसिया तस्वीर कपीराइट Reuters
Image caption हमलाले देशको पर्यटन उद्योगमा धक्का पुग्ने ठानिएको छ

ट्युनिसियाका प्रधानमन्त्रीले राजधानी ट्युनिसको मुख्य संग्रहालयमा बन्दूकधारीहरुले गरेको हमलामा सत्रजना पर्यटकहरुसहित उन्डाइसजनाको ज्यान गएको बताएका छन्।

प्रधानमन्त्री हबिब एसिदले मारिनेहरुमा इटली, जर्मनी, पोल्याण्ड र स्पेनका नागरिकहरु भएको बताए।

सुरक्षा दलहरुले कैयौं घन्टा लामो कारवाही पछि दर्जनौं मानिसहरुलाई बन्धक बनाएका दुईजना बन्दूकधारीहरुलाई मारीदिएका छन्।

तर प्रधानमन्त्रीले उनीहरुका सहयोगीहरु अझै शहरमै हुनसक्ने चेतावनी दिएका छन्।

हमला

संसद भवन नजीकै रहेको मध्य ट्युनिसको लोकप्रिय बार्दो संग्रहालयमा उक्त हमला गरिएको थियो।

त्यसबेला संसदमा सांसदहरुले एउटा आतंकवाद विरोधी विधेयकमाथि छलफल गरिरहेका थिए।

त्यसपछि संसद भवन खाली गरिएको थियो।

प्रधानमन्त्री एसिदले कम्तीमा २२ जना पर्यटकहरु तथा दुईजना ट्युनिसियाली नागरिकहरु घाइते भएको जनाए।

खोजी

उनले हमलाकारीहरुसंग रहेको हुनसक्ने ठानिएका अन्य उग्रवादीहरुको पनि खोजी भैरहेको जनाए।

"यो हाम्रो इतिहासको एउटा कठिन र हाम्रो भविष्यकालागि एउटा निर्णायक क्षण पनि हो," उनले भने।

स्थानीय टेलिभिजन चित्रहरुमा सुरक्षाकर्मीहरुले बन्धकहरुलाई सुरक्षित स्थान तर्फ लग्दै गरेको देखाइएको थियो।

संवाददाताहरु भन्छन्, उक्त हमलाले ट्युनिसियाको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटनमा ठूलो धक्का पुगेको छ।