'वित्तीय स्थायित्व' नयाँ गभर्नरको प्राथमिकता

  • 19 मार्च 2015
तस्वीर कपीराइट BBC Sanjaya Dhaka
Image caption कार्यकाल टुंग्याएका गभर्नर खतिवडाले वित्तीय स्थायित्व कायम राख्ने चुनौती रहेको बताए

नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भए लगत्तै बीबीसीसंग कुरा गर्दै अर्थविद डाक्टर चिरञ्जीवी नेपालले वित्तीय स्थायित्व कायम राख्नु अनि संसारभर बढिरहेको वित्तीय अपराध कम गराउनु आफ्नो प्राथमिकता रहने बताएका छन्।

"त्यसबाहेक बैंकिंग क्षेत्रमा पहुँच नभएकाहरुलाई पहुँच दिलाउनुपनि मेरो प्राथमिकता रहने छ," उनले भने।

केही सातादेखि चर्किएको विवादका माझ सरकारले अर्थविद् नेपाललाई केन्द्रिय बैंकको गभर्नरको पदमा नियुक्त गरेको हो।

सिफारिस समितिले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषदले उनलाई नियुक्त गरेको अधिकारीहरुले बताएका छन्।

उनको कार्यकाल पाँच वर्षको हुनेछ।

साइनो

सरकारको मुख्य आर्थिक सल्लाहकार मानिने गभर्नरको पदमा मन्त्रिपरिषदले नियुक्त गरेका नेपाल यसअघि धितोपत्र बोर्डको प्रमुख अनि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रीको सल्लाहकारका रुपमा काम गर्थे।

नियुक्त हुनु केही अघिसम्म भने उनी प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आर्थिक सल्लाहकार रहे।

त्योभन्दा अघि देखिनै उनी अर्थविद्का रुपमा परिचित व्यक्ति हुन्।

तर उनको अर्थतन्त्रमाथिको पकडभन्दापनि कांग्रेसी साइनोले वर्तमान नियुक्तिमा बढ्ता भूमिका खेलेको कतिपयले ठानेका छन्।

त्यस्तो ठान्नेहरुले के भन्छन् भने गभर्नरको दौडमा शुरुवाती ताका देखा परेका कैयौं दिग्गज अर्थविद तथा पूर्व प्रशासकहरुलाई पछारेर उनले बाजी मारेका छन्।

आग्रह

देशको मौद्रिक नीतिको सञ्चालन गर्ने प्रमुख व्यक्ति गभर्नर जस्तो पदमा राजनीतिक आग्रह र पूर्वाग्रहले काम गर्नुलाई भने धेरैले निको मानेका छैनन्।

हुन त यसअघि पनि नेकपा एमालेका निकट भनेर ठानिएका युवराज खतिवडालाई गभर्नर पदमा नियुक्त गरिएको थियो।

उनले आफ्नो पाँच वर्षे कार्यकालमा वित्तीय स्थायित्व र अनुशासनमा कडाइ गरेको धेरैको टिप्पणी छ।

खतिवडाको पदचाप पछ्याउँदै वित्तीय स्थायित्व कायम राखेर अघि बढ्न नयाँ गभर्नरका सामु थुप्रै चुनौती रहेको बताइन्छ।

"खासगरी वित्तीय सुधार र अनुशासनका कदमहरुलाई अझ व्यवस्थित ढंगले अघि बढाउने अनि बैंकिंग प्रणालीमा पहुँच नभएकाहरुलाई पहुँच बढाउने मुख्य चुनौती नयाँ गभर्नरका सामु छन्,"खतिवडाले बताए।

उनका अनुसार विश्व अर्थव्यवस्थामा आएका परिवर्तनले नेपालमा पार्न सक्ने प्रभावका बारे सजग रहने अनि वित्तीय अपराधलाई नियन्त्रण गर्नुपनि नयाँ गभर्नरका चुनौती हुनेछन्।