एसएलसीमा छात्रा बढे तर गुणस्तरमा अझै कमी

  • 19 मार्च 2015
तस्वीर कपीराइट upendra lamichhane
Image caption नेपालमा अहिले विद्यालय जाने विद्यार्थीहरुको संख्या ९५ प्रतिशतबाट नाघिसकेको बताइन्छ।

गाउँ गाउँमा छोरीलाई पढाउनुपर्ने चेतना बढेकाले यसपटक एसएलसी परिक्षाको ईतिहासमा पहिलोपटक छात्र भन्दा छात्राहरुको संख्या बढी भएको शिक्षाविद्हरुले बताएका छन्।

बिहीबारबाट सुरु एसएलसी परिक्षामा नियमित तर्फ उपस्थिति जनाइरहेका झन्डै साढे चार लाख विद्यार्थी माध्ये छात्राको संख्या छात्रहरुको भन्दा करिव १ हजारले बढी रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

तर संख्यामा वृद्धि भए पनि परिक्षामा छात्रालाई गुणस्तरिय शिक्षा उपलब्ध गराउने विषयमा अझै विभेद कायम रहेको विज्ञहरुको भनाई छ।

प्राथमिक र निम्न माध्यामिक तहमा छात्रा छात्रको उपस्थिति केही वर्षदेखि समान देखिन थालेको भए पनि एसएलसी परिक्षाको ८ दशकको इतिहासमा पहिलोपटक यो वर्ष छात्राहरुको संख्या बढी देखिएको हो।

विभेद कायमै

केही वर्ष यता सरकारी छात्रबृत्ति र बढ्दो जनचेतनाका कारण छोरीमाथी हुने विभेद कम भएकाले छात्राहरुको विद्यालयमा पहुँच बढेको शिक्षाविद् तीर्थ खनियाँले बताए।

उनले भने, “पैसा नभएकै कारण भर्ना हुन छोरीलाई गाह्रो छैन त्यसले गर्दा पहुँचको हिसाबले नेपालको शिक्षाले प्रगति गरेको मान्नुपर्छ, गुणस्तरबारे चाहिँ निकै छलफलको विषयवस्तु हो।”

तर अझै पनि छोरीलाई सरकारी विद्यालयमा भर्ना गर्ने र छोरालाई निजी विद्यालयमा पठाउने प्रवृत्तीका कारण गुणस्तरीय शिक्षा दिने विषयमा भने विभेद कायमै रहेको छ।

पछिल्ला केही वर्षहरुको आंकडा हेर्दा एसएलसीमा छात्रहरु ६५ प्रतिशत र छात्राहरु जम्मा ३५ प्रतिशत उत्तिर्ण हुने गरेको पाइएकाले गुणात्मक शिक्षामा छात्राको पहुँच पुर्याउन अझै पनि नसकिएको शिक्षाविद् मनप्रसाद वाग्लेले बताए।

चुनौती

उनले भने, “यसले के देखाएको छ भने छात्रालाइ स्कुल पठाएको जस्तो गर्ने तर घरको काम गर्न लगाउने, जाँचको समयमा पनि दाउरा घाँस, मेलापात सबै गर्न लगाउने त्यसकारण यो संख्याले हामी त्यति उत्साही हुनुपर्ने अवस्था छैन।”

एसएलसी अध्ययनको तयारीका क्रममा छात्रालाई सरकारी शिक्षण संस्थाले पाठ्य सामग्री र छात्रवृती उपलब्ध गराउने गरेकाले पनि संख्यामा बृद्धि भएको उनीहरु बताउँछन्।

तर संख्यात्मक हिसाबमा अहिले देखिएको यो बृद्धिलाई गुणात्मक बनाउन सरकारी शिक्षाको स्तरमै ठूलो परिवर्तन ल्याउनुपर्ने विज्ञहरुको धारणा छ।