यमनमा भीषण आत्मघाती बम हमला

  • 20 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption हमलाकारीले मस्जीदमा रहेको भिडको बीचमा नै बसेर विस्फोटन गराएका थिए

यमनको राजधानी साना स्थित दुईवटा मस्जीदमा आत्मघाती बम हमलाकारीहरुले हमला गर्दा एकसय बीसजना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

शुक्रबारको प्रार्थनका बेला भएका ती बम हमलामा अन्य कैयौँ घाइते भएका छन्।

एउटा मस्जीदमा बम हमलाकारीले भीडको बीचमा नै बसेर विस्फोट गराएका थिए भने त्यसपछि आतंकित श्रद्धालुहरु भागाभाग गर्दा अर्को विस्फोटन भएको थियो।

टेलिभिजन दृश्यहरुमा मानिसहरुले घाइतेहरुलाई छिटो छिटो अस्पताल तर्फ लग्दै गर्दा ती दुवै मस्जीदहरु बाहिर रगतको आहालमा यत्रतत्र छरिएका शवहरु देख्‍न सकिन्थ्यो।

क्षति

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा दुई जना आत्मघाती बम हमलाकारीहरुले सानाको दक्षिणमा रहेको बद्र मस्जीदमा आक्रमण गरेका थिए।

अल जजीराका अनुसार मारिनेहरुमा बद्र मस्जीदका इमाम तथा एकजना प्रमुख हुथी धर्मगुरु अल मुर्तदा बिन जायद अल महत्वारी पनि छन्।

दुबै मस्जीदहरु हुथी भनेर चिनिने शिया विद्रोहीका समर्थकहरु जाने धार्मिकस्थलहरु थिए।

हुथीहरुले गत बर्ष सानालाई आफ्नो नियन्त्रणमा लिएका थिए।

इराक र सिरियाको ठूलो भूभागमा नियन्त्रण जमाएको इस्लामिक स्टेटले सो हमलाको जिम्मा लिएको छ।

तनाव

यमनमा ती विद्रोहीहरु र अल कायदाप्रति वफादार उग्रवादीहरु सहित अन्य विभिन्न शक्तिशाली समूहहरुबीच गहिरो तनाव विद्यमान छ।

यमन अरब प्रायद्वीपस्थित अल कायदाको आधार हो।

इस्लामिक स्टेटले त्यहां विस्तारै आफ्नो प्रभाव बढाउँदै लगेको छ।

उक्त समूहले गत नोभेम्बर महिनामा सानामा स्थानीय शाखा स्थापना गरिएको घोषणा गरेको थियो।

दक्षिणी शहर एडनमा राष्ट्रपति अब्दरअबु मनसुर हादी समर्थक सैन्य र उनका पूर्ववर्ती अली अब्दुल सलेह समर्थक सैन्यबीच हिंसात्मक भिडन्त भएको एक दिन पछि यी बम हमलाहरु गरिएका हुन्।