तेजाब विक्री वितरणमा कडाई गर्न माग

  • 21 मार्च 2015
Image caption तेजाब आक्रमणसम्बन्धी छुट्टै कानुन आवश्यक रहेको प्रहरीको भनाई छ

तेजाब आक्रमणका घटनाहरु बढ्दै गएको भन्दै महिला अधिकारकर्मीहरुले त्यसको सहज विक्री वितरणमा कडाई गर्नुपर्ने माग गरेका छन्।

बजारमा सजिलै किन्न पाइने भएका कारण आक्रोश पोख्ने माध्यमको रुपमा तेजाबको प्रयोग बढेको उनीहरुले चिन्ता व्यक्त गरेका छन्।

त्यस्तो छुट्टै कानुन बनेमा तेजाबको प्रयोगबाट हुने अपराधमा कमी आउने प्रहरीको भनाई छ।

पछिल्लो ३ वर्षमा महिलामाथि तेजाब हानिएका ६ वटा घटना भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ।

व्यवस्थित

त्यसैले बेलैमा यसको विक्री वितरणलाई व्यवस्थित गर्नुपर्ने माग अधिकारकर्मीहरुले गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, “यो व्यवस्थित हुनु पर्दछ, बेच्ने सीमित स्थान हुनुपर्छ, प्रावधिकहरुका आवश्यक पर्ने मानिसले मात्र किन्न पाउने गरी किन्नेको विवरण राखेर मात्र दिने व्यवस्था मिलाइनु पर्दछ।”

हाल महिलाको अनुहारलाई बिगार्ने गरी हान्ने गरिएको तेजाबको वितरणमा नियन्त्रण गर्ने कानुनको निर्माण गर्न नसके अबका दिनमा कुनैपनि व्यक्तिले कसैलाई रिस पोख्ने साधनको रुपमा यसको प्रयोग गर्न सक्ने उनको भनाई छ।

तेजाब प्रयोगका घटनाहरु बढ्दै जान थालेपछि जिल्ला प्रशासन र प्रहरीबाट नियन्त्रणका लागि परिपत्र गरेर प्रयास थालिएको प्रहरीको भनाई छ।

प्रयोग

यस सम्बन्धी छुट्टै कानुन बनेमा तेजाबको प्रयोगबाट हुने अपराधमा कमी आउने उसको भनाई छ।

नेपाल प्रहरीका प्रवक्ता कमल सिंह बमले भने, “परिपत्र भएर नियन्त्रण गर्ने कुराहरु त भएको छ तैपनि विशेष कानुन बन्यो भने प्रभावकारी रुपबाट नियमन हुन्छ र त्यसबाट अपराधमा कमी आउँछ।”

हालै काठामाण्डूमा भएको तेजाब प्रहारको घटनामा पनि अभियुक्त भनिएका व्यक्तिले सहज ढंगले दुई-दुई पटकसम्म तेजाब खरिद गरेको पाइएको प्रहरीले बताएको छ।

वितरण गर्ने स्थान र खरिद गर्ने व्यक्तिको विवरण राख्ने व्यवस्था गर्न मात्रै सकिएमा पनि कुनै पनि व्यक्तिले आफुले खरिद गरेको तेजाबको दुरुपयोग नगर्ने प्रहरीको भनाई छ।