भारतमा चिट चोराउने तीन सय पक्राउ

  • 21 मार्च 2015
तस्वीर कपीराइट BBC World Service
Image caption चिट चोराइएका तस्वीरले बिहारका अधिकारीहरुलाई लज्जित बनाएको छ

विद्यालय तहको अन्तिम परीक्षामा व्यापक चिट चोराएको भिडियो र तस्वीर अनलाइनमा सार्वजनिक भएपछि भारतको बिहार प्रान्तका अधिकारीले झन्डै तीन सय जनालाई पक्राउ गरेका छन्।

सात सय ५० जना भन्दा बढीलाई परीक्षा दिनबाट वञ्चित गरिएको छ र केही केन्द्रहरुमा परीक्षा रद्द गरिएको छ।

परीक्षार्थीका अभिभावक तथा साथीहरु विद्यालयको भवनका झ्याल र पर्खालमा झुन्डिएर चिट चोराइरहेका र केही परीक्षार्थीले धमाधाम उत्तर सारिरहेका तस्वीरहरु सार्वजनिक भएका थिए।

पक्राउ परेका मध्ये अधिकांश परीक्षार्थीहरुका अभिभावक छन्।

लाजमर्दो

बिहारमा मात्र झन्डै १४ लाख विद्यार्थीहरु हाल जारी १० कक्षाको बोर्ड परीक्षामा सहभागी भैरहेका छन्, जसमा उत्तीर्ण हुनु सफल भविष्य सुनिश्चित गर्न महत्वपूर्ण ठानिन्छ।

बीबीसीकी जील मक्गिभरिङ भन्छिन्, सामाजिक सञ्जालहरुमा व्यापक व्यंग्य गरिएपछि अधिकारीहरु चिट चोराउने प्रवृत्ति प्रति लज्जित देखिएका छन्।

परीक्षा केन्द्रहरुमा विद्यार्थीहरुले लुकाएर लगेका कागजका टुक्राबाट जवाफ सारिरहेको र त्यहाँ तैनाथ प्रहरीलाई नदेखे जस्तो गर्ने शर्तमा घुस दिइएका तस्वीरहरु सार्वजनिक भएका थिए।

सबैभन्दा बढी गिरफ्तारी गरिएको ४ वटा केन्द्रका बाँकी परीक्षाहरु स्थगित गरिएका छन्।

बिहारका मुख्य मन्त्री नितिश कुमारले चिट चोराउने घटनाको निन्दा गर्दै सार्वजनिक भएका तस्वीरले समग्र बिहारको चित्रण नगरेको प्रष्टिकरण दिएका छन्।

विद्यार्थीका अभिभावकलाई चेतावनी दिँदै उनले चिट चोराउने प्रवृतिले दीर्घकालमा फाइदा नगर्ने पनि बताए।

राज्यका शिक्षामन्त्री पिके शाहीले ठूलो संख्यामा परीक्षार्थीका आफन्तहरु चिट चोराउन आएकाले निष्पक्ष परीक्षा गर्न अप्ठेरो भएको बताएका छन्।

शाहीले भने, “एक जना परीक्षार्थीलाई सघाउन तीन देखी ४ जना आइरहेकाले चिट चोराउने काममा झन्डै ६० देखि ७० लाख संलग्न भएको देखिन्छ, यस्तोमा १०० प्रतिशत निष्पक्ष जाँच कसरी गराउन सकिन्छ?”