मस्जिद आक्रमण गराएको आइएसको दावी

  • 21 मार्च 2015
तस्वीर कपीराइट
Image caption यमनको बाडर र अल हसुस मस्जिदमा शुक्रबारे प्रार्थना समयलाई लक्षित गरेर बम विष्फोट गराइएको थियो

यमनको राजधानी सानामा दुइवटा मस्जिदमाथि आफुले हमला गरेको इश्लामिक स्टेटले दावी गरेको छ।

हमलामा कम्तिमा १ सय ३७ मारिएका छन्।

सुन्नी समुहको आइएसले यमनमा नोभेम्बरमा शाखा खोलेयता यि आक्रमणहरु गरेको दावी पहिलोपटक गरेको हो।

सानामा नियन्त्रण जमाउँदै आएको जाइदी शिया नेतृत्वको हुथी विद्रोही समुहले ति दुइ मस्जिदहरु प्रयोग गर्दै आएका थिए।

अस्थिरता

हुथी विद्रोहीहरुले यमनको २१ मध्ये नौ प्रान्तमा नियन्त्रण जमाएका छन् ।

यमनमा वर्षौदेखि राजनीतिक अस्थिरता छ।

अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारका राष्ट्रपति आवेद राबो मन्सुर हदी एडेन शहरतर्फ भागेका छन्।

शुक्रबारे प्रार्थनाका लागि मानिसहरु जम्मा भएका समयमा चारजना आत्मघाती हमलाकारीले आक्रमण गरेका थिए।

बाडर मस्जिदमा एकजना बमधारी प्रवेश गरेर विस्फोटक पदार्थ विस्फोट गराएको थियो भने मुख्य प्रवेश द्वारमा अर्कोले विस्फोट गराएको थियो।

मिडिया रिपोर्टका अनुसार उक्त मस्जिदका प्रतिस्ठित हुथी धर्मगुरु पनि मारिनेमा परेका छन्।

अरु दुइ जनाले अर्को अल हसुस मस्जिदमाथि आक्रमण गरेका थिए।

प्रत्यक्षदर्शी मोहम्मद अल अन्सीले भने - 'रगतको खोलो बगेको थियो।'

रक्तदानको आग्रह

तीन सय जति मानिसहरु घाइते भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्।

अस्पतालहरुले अविलम्ब रक्तदानका लागि आग्रह गरेका छन्।

उत्तरी शहर सादाको अर्को मस्जिदमा पनि आत्मघाती आक्रमण भएको तर त्यसमा आक्रमणकारी मात्र मारिएको बताइएको छ।

अल कायदा र आइएसले सिया मुश्लिमहरुलाई धर्मभ्रष्ट भन्छन् र यमनमा हुथीहरु विरुद्ध कारवाही गर्दै आएका छन्।

इश्लामिक स्टेटद्वारा ट्वीटरमा जारी गरिएको विज्ञप्तीमा थप आक्रमणहरु गरिने बताइएको छ।

.