डाक्टर केसी पाचौँ पटक अनसनमा

  • 22 मार्च 2015
Image caption डाक्टर केसीले ग्रामीण क्षेत्रमा स्वास्थय सेवा पुर्याउनुपर्ने सहित १० वटा माग राखेका छन्

चिकित्सा शिक्षा नीति नल्याइ सरकारले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले पाचौँ पटक अनसन सुरु गरेका छन्।

विभिन्न स्वार्थ समूह सामु झुक्दै प्रधानमन्त्री र सरकारका उच्चअधिकारी आफूसँग विगतमा गरिएका सहमति उल्लंघन गर्न लागिपरेको आरोप लगाउँदै डाक्टर केसीले आफूसँग पुन: आन्दोलनमा बस्नुको विकल्प नभएको बताएका छन्।

उनले मेडिकल कलेज सम्बन्धन लगायतका प्रकरणमा अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भएको भनिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यसअघि आफ्ना माग पूरा गर्न उनले सरकारलाई १० दिने समयसीमा दिएका थिए।

माग

अनसन थाल्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य सेवा शहरमा मात्र केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने झन्डै ८० प्रतिशत नेपाली मध्ये वर्षेनी दशौँ हजारले झाडापखाला जस्ता साधारण रोगबाट ज्यान गुमाउनु परिरहेको विवरण प्रस्तुत गरेका थिए।

समयमै उपचार नपाउँदा निको नहुने खालका स्वास्थ्य समस्यासँग जुध्नुपरिरहेका बिरामीका आफैले खिचेका तस्वीर देखाउँदै उनले ग्रामीण क्षेत्रलाई लक्षित गरेर मात्र नयाँ मेडिकल कलेज खोलिनुपर्ने बताए।

उनले भने, “मेडिकल कलेजहरु अब गाउँमा हुनुपर्यो जहाँ अहिले केही पनि छैन, योग्य विद्यार्थीले मात्र मेडिकल शिक्षा पढ्न पाउनुपर्यो, त्यो भयो भने मात्र राम्रो जनशक्ति तयार हुन्छ, देशको हीत हुन्छ।”

उनीसँग विगतमा भएका सम्झौताका आधारमा चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समिति गठन भएका थिए।

दुवै समितिले राजधानी सहित स्वास्थ्य सेवामा बढी पहुँच भएका शहरले नयाँ मेडिकल कलेज धान्न नसक्ने सुझाव सरकारलाई दिएका थिए।

आलोचना

ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको भएपनि केही समय पहिले काठमाण्डू विश्वविद्यालयले दुई वटा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो।

तर प्रधानमन्त्री कार्यलयले पठाएको पत्रका आधारमा हालै त्रिभुवन विश्वविद्यालयले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघ‌ि बढाउन गरेको आग्रहलाई चिकित्साशास्त्र अध्ययन संस्थानले क्षमता नभएको भन्दै अस्वीकार गरेको छ।

पत्रकार सम्मेलनमा डाक्टर केसीले सरकार, अख्तियार र न्यायालयले मेडिकल माफियाको चँगुलमा फसेर नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने पक्षमा उभिएको भन्दै आफूसँग पुन: अनसनमा बस्नुको विकल्प नभएको बताए।

“मैले १० दिनको अल्टिमेटम दिएको थिए तर सरकारको तर्फबाट केही पनि जवाफ पाएको छैन, केही दिनपछि हामीले सम्बन्धन दियौँ भन्ने अर्को निर्देशन आउन सक्छ, त्यही भएर मेरो सामु आन्दोलनको अरु विकल्प छैन।”

सम्बन्धन

देशभर हाल २० वटा मेडिकल कलेज संचालनमा छन् र थप डेढ दर्जनले मेडिकल कलेज खोल्नका लागी शिक्षा मन्त्रालयबाट आशयपत्र प्राप्त गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले आशयपत्र प्राप्त गरिसकेका मेडिकल कलेजको सम्बन्धन रोक्न नमिल्ने बताए।

“सम्भाव्यता अध्ययन सहितका प्रक्रिया पूरा गरेका मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यलयबाट पत्र आएको छ, त्यही भएर सम्बन्धन दिनुपर्छ भनेर सूचना प्रकाशन गरिएको हो।”

आशयपत्र प्राप्त गरेर ठूलो लगानी गरी पूर्वाधार निर्माण गरेका कतिपय प्रस्तावित मेडिकल कलेजमा सत्तापक्षीय दल निकट व्यक्ति र संस्थाका लगानी भएकाले सम्बन्धन दिने प्रक्रिया नरोक्न सरकारमाथि तीव्र दबाब परिरहेको छ।