'सहचालकले जानी जानी विमान ठोक्काए'

  • 26 मार्च 2015

फ्रान्सेली अभियोक्ताहरुले फ्रान्सको आल्प्स पर्वतीय क्षेत्रमा मंगलवार दुर्घटनाग्रस्त भएको विमानका सहचालकले उक्त विमानलाई जानी जानी पहाडमा लगेर ठोक्काएको बताएका छन्।

तस्वीर कपीराइट Twitter
Image caption विमानका सहचालकले जानी जानी विमान ठोक्याएको छानबिनकर्ताहरुले जनाएका छन्

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भ्वाइस रेकर्डरबाट प्राप्त सूचनाको आधारमा त्यस्तो निष्कर्ष निकाल‌िएको उनीहरुले जनाए।

सहचालक एन्ड्रियस लुबित्ज ककपिटमा एक्लै भएको र उनले वायुसेवा नियन्त्रकहरुलाई पनि कुनै जवाफ नदिएको बताइएको छ।

एकजना फ्रान्सेली अभियोक्ता ब्राइस रबिनले भने, “विमानको चालकले सहचालकलाई जिम्मा दिएर शौचालय गएको र त्यसपछि ढोका थुनिएको आवाज सुनिन्छ। त्यसपछि सहचालकले नै विमान नियन्त्रणमा लिएका थिए र विमानलाई ओराल्ने बटन थिचेका थिए।”

जर्मन अधिकारीहरुले उक्त विमानका सहचालकको कुनै आतंककारी समूहहरुसंग सम्पर्क भएको कुनै प्रमाण नपाइएको जनाएका छन्।

आवाज

भ्वाइस रेकर्डरले विमान ठोक्किनु अघि यात्रुहरु डराएर चिच्याएको आवाज पनि रेकर्ड गरेको छ।

यसअघि दुर्घटनाग्रस्त जर्मन विङ्ग्सको यात्रु विमानको ककपीट भ्वाइस रेकर्डरमा काम लाग्ने विवरणहरु फेला परेको फ्रेन्च अनुसन्धानकर्ताले बताएका थिए।

अनुसन्धानकर्ताहरुले आल्प्स क्षेत्रमा उक्त यात्रु तीव्र गतिमा भूईँमा झरेको तर विमानमा आगलागी नभएको बताए।

निरीक्षण

स्पेनको बार्सिलोनाबाट ड्यूसेलडोर्फका लागि उडेको उक्त विमान उचाइ लिएको ८ मिनेटसम्ममा जमीनमा खसेको थियो।

विमानमा १ सय ४४ जना यात्रु र ६ जना चालकदलका सदस्य रहेका थिए।

फ्रेन्च, जर्मन र स्पेनिश नेताहरुले बुधबार घटनास्थलको निरीक्षण गरेका थिए।

तस्वीर कपीराइट Reuters
Image caption फ्रेन्च, जर्मन र स्पेनिश नेताहरुले घटनास्थलको निरीक्षण गरेका छन्

फ्रान्सको नागरिक उड्डयन अनुसन्धान निकायका निर्देशक रेमी जूटीले दुर्घटनाग्रस्त विमानको ककपीट भ्वाइस रेकर्डरमा आवाज र बोलीहरु पाइएको बताए।

उनले भने, “हामी आशा गर्दछौँ केही दिनभित्र दुर्घटनाबारे अनुसन्धानकर्ताहको प्रारम्भिक धारणा बन्न सक्छ तर पूर्ण विश्लेषणका लागि हप्तौं वा महिनौं लाग्न सक्छ।”

यसअघि दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको समाचारहरु आएका थिए।