डा. केसीको समर्थनमा आन्दोलन घोषणा

  • 26 मार्च 2015
तस्वीर कपीराइट .
Image caption डा. केसीको स्वास्थ्य स्थिति थप बिग्रँदै गएको उनको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन्

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डाक्टर गोविन्द केसी अनसनमा बसेको पाचौं दिन पुग्दा पनि सरकारले उनका मागप्रति ध्यान नदिएको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न संघ संस्थाहरुले आन्दोलनको चेतावनी दिएका छन्।

शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले शुक्रबारदेखि बहिरङग सेवा बहिस्कार गर्ने निर्णय गरिसकेका छन् भने अन्य संघ संस्थाहरुले पनि केसीको माग पुरा नभए आइतबार देखि चरणवद्ध आन्दोलनमा जाने जनाएका छन्।

यसभन्दा अघि ४ पटकसम्म अनसनमा बस्दै अनि सरकारी प्रतिबद्धतापश्चात् अनसन तोड्दै आएका डाक्टर केसी आफुसँग भएका सहमतिहरु लागू गर्नुको साटो सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पर्ने गरी घातक कदमहरु चालिएका भन्दै पाँचौ पटक अनसनमा बसेका हुन्।

चेतावनी

अनसनमा बसेको ५ दिन सम्म पनि सरकारले सुनुवाइ नगरेको भन्दै सरकारलाई दबाब दिन बुधबार र बिहीबार दिनभर चिकित्साशास्त्र अध्ययन गरिरहेका विधार्थीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ गरे भने आवासीय चिकित्सकहरुले सरकार प्रति ब्यङग्य गर्दे आँखामा कालो पट्टी बाँधे र चक्रपथ सम्म -याली नै निकाले।

३ दिन देखि आफ्ना शैक्षिक गतिविधि बन्द गरेका शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले शुक्रबार देखि बहिरङग सेवा बहिस्कार गर्ने निर्णय गरेका छन्।

मागहरुको संवोधन नभए आफ्ना आन्दोलनका कार्यक्रमहरु बढदै जाने एमवीवीएस पढदै गरेका सुमन आचार्यले बताए।

उनले भने, "हाम्रो आन्दोलनका कारण विरामीहरु मर्कामा नपरुन् भन्ने हाम्रो इच्छा हो, तर सरकारले मागहरु सुन्दैन भने हामी सेवा अवरुद्ध गर्न वाध्य हुने छौं र त्यसको जिम्मेवार सरकार हुनुपर्ने छ।"

डाक्टर केसी अनसन बसेको ठाउँ शिक्षण अस्पतालमै आएर उनको आन्दोलनप्रति एक्यबद्धता व्यक्त गर्नेहरुको भीडनै लाग्ने गरेको बताइएको छ।

उनको आन्दोलनप्रति एक्यवद्धता जनाउने स्वास्थ क्षेत्रका विभिन्न संघ संस्थाहरुले माग सम्बोधन नगरिए देशव्यापी रुपमै सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्।

डा. गोविन्द केसी स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध लागेको योद्धा भएकाले आफुहरु आन्दोलनमा आएको नेसनल रेजिडेन्ट डक्टर एसोसियसनका सचिव नरमन लामिछानेले बताए।

अडिग

उनले भने, "मेडिकल शिक्षा क्षेत्रको बेथितिविरुद्ध लडेको महान योद्धा गुमाउन नपरोस् भनेर सरकारलाई दबाब दिन हामीहरु पनि आन्दोलनमा जाने निर्णय गरेका हौं।"

डाक्टर केसीले अघि सारेको १० बुँदे मागमा चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण पश्चात् मात्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिइनु पर्ने, हालै केही मेडिकल कलेजलाई दिइएको सम्बन्धन रोक्नु पर्ने, अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भनिएका त्रिवि पदाधिकारीहरु तत्काल पदच्युत गरेर कारवाही गर्नु पर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले दिएको प्रतिवेदन लागू गर्नु पर्ने, त्रिवि, आइओएम, न्याम्स लगायतका नेतृत्वदायी र नियामक संस्थाहरुमा पदाधिकारीहरु नियुक्त गर्दा दलीय वफादारीको आधारमा नभएर वरिष्ठता र कार्य क्षमताको आधारमा नियुक्त गर्ने व्यवस्था गरिनु पर्ने, ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्न भएको सम्झौता लागू गरिनु पर्ने लगायत छन्।

अनसनरत डा गोविन्द केसीले वीवीसी सँग कुरा गर्दै आफ्ना १० वटै मागहरु सम्वोधन नभए सम्म अनसन नतोड्ने बताए।

उनले भने " यदि अन्सन गर्दागर्दै म मरिहाले भने पनि जिम्मेवार नयाँ पुस्ताले यो मुद्दालाई अगाडि बढाउने छ र स्वास्थ्य क्षेत्रको विकृतिको अन्त्य गर्ने छ।"

तर बीबीसीसंग कुरा गर्दै अर्थमन्त्री डा रामशरण महतले सभासदहरुको हस्ताक्षर अभियानका कारण गठबन्धन सरकारमाथि दबाब परेको बताए।

उनले वार्ताद्वारा समस्याको समाधान खोज्न डा. केसीलाई आग्रह पनि गरे।