अनलाइनमार्फत व्यक्तिगत विवरण भर्ने व्यवस्था

  • 26 मार्च 2015
Image caption सरकारी अधिकारीहरुले अनलाइन सेवासँगै काममा तीव्रता आउने विश्वास लिएका छन्

स्थानीय निकायका कार्यालयमै पुग्न नपर्ने गरी व्यक्तिगत विवरणहरु अब अनलाइनमार्फत भर्न मिल्ने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्।

यसै आर्थिक वर्षमा देशका सबै नगरपालिका तथा इन्टरनेटको पहुँच सहज भएका ५ सय गाविसहरुबाट यो सेवाको शुरुवात गरिने बताइएको छ।

यो व्यवस्थापछि सबैलाई सजिलो हुने सरकारी भनाई रहेको छ भने इन्टरनेटको भरपर्दो पहुँच र त्यसको प्रयोगबारेको सीपका अभावले चुनौती खडा गर्ने ठानिएको छ।

नयाँ व्यवस्थाअनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराई सम्बन्धविच्छेद जस्ता घटनाको सूचना अनलाइनमार्फत नै दिन सकिने बताइएको छ।

बाध्यता

जुन विवरण भर्न यसअघि सम्बन्धित स्थानीय निकायकै कार्यालयमा पुग्नैपर्ने बाध्यता रहेको थियो।

अनलाइन व्यवस्थापछि त्यस्तो बाध्यताको अन्त्य हुने भनाई छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईको।

उनले भने, “अनलाईनमा फारम भरेपछि एउटा प्रक्रियामा जान्छ, कार्यालयको प्रक्रियामा लाग्ने समय सेवाग्राहीको बचत हुन्छ र थप कुरा आवश्यक पर्ने भए त्यहीबाट जानकारी पनि पाँउछ भन्ने हामीले आशा गरेका छौँ।”

फारम भरेर सूचना दिन मिल्ने भए पनि त्यसको प्रमाणपत्र लिन भने कार्यालयमै पुग्नुपर्ने बताइएको छ।

अनलाइनबाट फारम भर्न मिल्ने सेवा देशभरका १ सय ९१ वटै नगरपालिकामा यसै आर्थिक वर्षभित्र शुरु गरिने बताइएको छ।

विस्तार

सबै गाँउ विकास समितिहरुमा ईन्टरनेट सेवा नपुगी सकेकाले हाल ५ सयबाट शुरु गरेर बढाउँदै लैजाने लक्ष्य रहेको प्रवक्ता भट्टराईले बताए।

उनले भने, “हाल ५ सय वटा गाँउ विकास समितिहरुमा केहीन केही रुपमा कम्प्युटर बेस सेवा शुरु भएको छ, हामी पहिले तिनैबाट शुरु गर्छौँ र क्रमशः विस्तार गर्दै जान्छौँ।”

जनताको सेवाका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरेर शुरु गरिने यो सेवाको चुनौती भने रहेको स्वयं अधिकारीहरुकै भनाई छ।

भएको ईन्टरनेट पनि प्रभावकारी नरहेको र सबैको पहुँचमा नहुनाले अपेक्षाकृत परिणाम आउनेमा आशंका गरिएको छ। ‌