'सहचालक आक्रामक स्वभावका थिए'

  • 28 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption उक्त विमानमा ज्यान गुमाएकाहरुको आफन्तले फ्रान्सबाहेक जर्मनी र स्पेनमा पनि स्मृतिसभा गरेका छन्।

फ्रान्सको हिमाली क्षेत्रमा जानाजान विमान दुर्घटना गराएको आशंका गरिएका जर्मन सहचालकले आफ्नो नाम सबैले सम्झने गरी कुनै दिन केही काम गरेर देखाउने बताएको उनकी पूर्वप्रेमिकाले जनाएकी छन्।

एउटा जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ती सहचालक आन्द्रेयास लुबिट्जमा मनोदशा बदलिने तथा आक्रामक बानी व्यहोरा रहेको बताएकी हुन्।

ती पूर्व प्रेमिकाको पुरा परिचय भने खुलाइएको छैन।

मारिया डब्लु मात्रै भनेर उल्लेख गरिएकी ती २६ वर्षीया विमान परिचारिकाले लुबिट्जले गत वर्ष उनीसंग बताएका कुराहरुको खुलासा गरेकी हुन्।

रहस्य

त्यतिबेला लुबिट्जले कुनै एक दिन आफूले पूरै प्रणाली बदल्ने तथा सबैले आफ्नो नाम थाहा पाउने गरी काम गर्ने टिप्पणी गरेको बताइएको छ।

यदि उनले जानाजान उक्त विमान दुर्घटना गराएका हुन् भने त्यसको पछाडि उनको स्वास्थ्य अवस्था, एउटा पाइलटका रुपमा लुफ्थान्सामा जागिर खाने उनको सपना पुरा नहुनु प्रमुख कारण रहेको ती महिलाले बताइन्।

ब्ल्याक बक्स भोइस रेकर्डरबाट प्राप्त प्रमाण अनुसार लुबिट्जले पाइलटलाई ककपिटमा आउन नदिएर विमानलाई हिमाली भेगमा लगेर दुर्घटना गराएको जस्तो देखिन्छ।

जर्मन अभियोक्ताहरुले लुबिट्जमा मानसिक स्वास्थ्य समस्या रहेको पुष्टि गर्ने खालका कागजातहरु उनको घरबाट भेटिएको बताएका छन्।

उनले आफ्नो रोग आफ्ना रोगजारदाताहरुबाट लुकाएको ठानिएको छ।

मृत्यु

स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसेलडर्फतिर गैरहेको सो विमानमा सोह्रजना स्कुले विद्यार्थीहरु सहित एकसय पचासजना सवार थिए।

फ्रान्सेली उद्धारकर्ताहरुले मृतकहरुको शव तथा विमानको भग्नावशेष संकलन गर्ने काम गरिरहेका छन्।