ब्रिटेनमा आम निर्वाचनको प्रचारप्रसार शुरु

  • 30 मार्च 2015
तस्वीर कपीराइट Getty
Image caption ब्रिटेनमा हरेक आम निर्वाचन अघि हुने राजनीतिक उत्साहको वातावरण यसपटक पनि आरम्भ भएको छ।

ब्रिटेनमा आगामी मे महिनामा हुने आम निर्वाचनको औपचारिक प्रचार प्रसार आरम्भ भएको छ।

सोमबार प्रधानमन्त्री डेभिड क्यामरन बकिंघम राजदरबार गएर महारानी एलिजावेथलाई संसद भंग गरिएको जानकारी गराए।

आसन्न आम निर्वाचन दशकौंमा सबैभन्दा निकट प्रतिस्पर्धा हुने र अनुमान गर्नै नसकिने खालको हुने बताइंदैछ।

महारानी एलिजावेथलाई संसद भंगको जानकारी दिएपछि ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरन अन्य पार्टीका नेताहरुसंगै निर्वाचन प्रचार प्रसार अभियानमा सहभागी भएका छन्।

नेतृत्व

महारानीसंगको झण्डै दश मिनेट लामो भेटवार्तापछि प्रधानमन्त्री निवास, १० डाउनींग स्ट्रीट, अगाडि आयोजित एक पत्रकारसम्मेलनमा बोल्दै क्यामरनले देशको आर्थिक पुनरुत्थानको प्रकृयालाई जोगाउन र उनकै शब्दमा “आवश्यक बलियो नेतृत्व” प्रदान गर्न आफूलाई सत्तामा निरन्तरता दिनका निम्ति मतदाताहरुलाई आह्वान गरे।

त्यसअघि लेबर पार्टीका नेता एड मिलिब्याण्डले कन्जरभेटिभ पार्टीको आलोचना गर्दै उनीहरुको इयु नीतिले ब्रिटेनका ब्यवसायहरुप्रति उनकै शब्दमा “स्पष्ट र तत्कालको खतरा” निम्त्याएको बताएका थिए।

महिनौंको अनौपचारिक निर्वाचन प्रचार गतिविधि पछि अब साढे पांच हप्ता लामो औपचारिक निर्वाचन प्रचार अभियान आरम्भ भएको छ।

अनुमान

तर यसपटकको उत्साह केही भिन्न खाले देखिएको छ किनकि प्रतिद्वन्द्वी दलहरुबीच निकट प्रतिस्पर्द्धा हुने ठानिएको यो निर्वाचनमा मतदान अघिका हालसम्मका अनुमानहरु कुनै पनि पार्टीका पक्षमा देखिएका छैनन्।

विभिन्न मतसर्वेक्षणहरुले देशका दुई मुख्य राजनीतिक दलहरु कन्जरभेटिभ र लेबर बराबरीको अवस्थामा रहेको र कसैले पनि बहुमत ल्याउन नसक्ने अनुमान प्रस्तुत गरेका छन्।

यो अन्योलमाथि झन स्कटिश न्याशनलिस्ट, युकिप र ग्रीन पार्टी जस्ता साना राजनीतिक दलहरको उदय हुनसक्ने अनुमानले झन अन्योल थपिदिएको देखिन्छ।

निर्वाचनमा यी साना दलहरुको प्रदर्शनले ब्रिटिश राजनीतिको अनुहार नै बदल्न सक्ने बीबीसीका राजनीतिक सम्वाददाता रब वाटसनले बताएका छन्।