अनसन तोडाउन सक्नेजति गरेका छौं: स्वास्थ्यमन्त्री

  • 30 मार्च 2015
Image caption नेपाल चिकित्सक संघले सरकारले माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि रिलेअनसन गर्ने जनाएको छ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा देखिएको विकृतिविरुद्ध भन्दै गत ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारले गर्नसक्नेसम्मका पहलहरु गरिसकेको स्वास्थ्यमन्त्रीले बताएका छन्।

केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै विरोधका विभिन्न कार्यक्रमहरु भइरहँदा सरकारले वार्ताका लागि गठन गरेको टोलीका सदस्य समेत रहेका स्वास्थ्य मन्त्रीले यस्तो बताएका हुन्।

सरकारले डाक्टर केसीको माग सम्बोधन गर्ने नगरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा विरोध स्वरुप देखि देशभरका सबै अस्पतालहरुमा बहिरंग सेवा अस्पताल प्रांगणबाटै दिन थालिएको बताइएको छ।

पाँचौंपटक अनसन बसेका डाक्टर गोविन्द केसीको मागबारे बुझ्न सरकारका मन्त्रीहरुलगायत पदाधिकारी दैनिक अस्पताल पुगे पनि उनले सरकारले माग पुरा नगरेको भन्दै अनसन जारी राख्ने बताएका छन्।

जवाफ

सरकारले भने उच्च प्राथमिकताका साथ उनको माग सम्बोधन गर्न खोजेको सरकारले खटाएको वार्ता टोलीमा रहेका स्वास्थ्यमन्त्री खगराज अधिकारीले बीबीसीलाई बताए।

उनले भने, "सरकारले आफ्नो सबै उपप्रधानमन्त्रीदेखि हामी मन्त्रीलगायत मुख्यसचिव सबै गम्भीर रुपमा लाग्नुपर्ने जति गरिसकेका छौं र गर्नसक्ने कामहरुको कार्ययोजना बताइदिसकेका छौं।"

तर सरकारले डा. केसीको माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाएको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए।

उनले भने, "डा केसीले उठाउनुभएको एजेन्डालाई सरकारले सुधार गर्न भन्दा पनि अहिले संकटमोचनका लागि सरकार र सरकारमा जुन पक्षहरु छन् उनीहरुले चाहिँ आफ्नो स्वार्थमा केही फरक नपर्ने गरी मुख्य एजेन्डामा प्रवेशै नगरेको देखिन्छ।"

डाक्टर गोविन्द केसीको स्वास्थ्य निकै कमजोर हुँदै गएको उनको हेरविचारमा खटिएका डाक्टरहरुले बताइरहँदा उनको समर्थनमा सोमबार ठूलो संख्यामा चिकित्सा शिक्षाका विद्यार्थी, नागरिक समाजलगायत विभिन्न पेशाकर्मीहरु शिक्षण अस्पतालमा भेला भएका थिए।

चाहना

त्यही क्रममा उपस्थित काठमाडौं स्वयम्भूका कुमार अधिकारीले विगतको सरकारमा सामेल रहेका नेताहरुले अहिले डा. केसीलाई भेट्दै देखाइरहेको ऐक्यवद्धताप्रति आशंका व्यक्त गरे।

उनले भने, "अहिलेको प्रधानमन्त्री हुन् चाहे विगतको प्रधानमन्त्री चाहे रेग्मी सरकार जुन पनि वार्ता गर्ने उनलाई अनसन तोड्ने, जहिले पनि यो झुक्याउने काम चाहिँ नेताहरुबाट नहोस् भन्ने हाम्रो जनताको चाहना हो।"

पटकपटक डा. केसी अनसनमा बस्ने र कार्यरत चिकित्सकहरुले उनको समर्थनमा विरोधका गतिविधि गर्दा त्यसबाट आखिरमा बिरामीलाई नै मारमा पर्ने गुनासो बुटवलका राजाराम घिमिरेले गरे।

उनले भने, "सरकारलाई त माथेमाको संयोजकत्वमा बनेको आयोगले प्रतिवेदन देला, अब स्वास्थ्य सेवा नै अस्तव्यस्त हुने भयो। "

विगतमा चारपटकसम्म डाक्टर गोविन्द केसी अनसनमा बस्दा उनको समर्थनमा त्रिवि शिक्षण अस्पताल र देशका अन्य अस्पतालका चिकित्सकहरु पनि विरोधमा उत्रँदा हजारौं बिरामीहरु प्रभावित भएका थिए, जसका लागि पछि डा. केसीले क्षमा मागेका थिए।