इरानको आणविक वार्तामा ‘तीव्रता’

  • 30 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption चरणबद्ध रुपमा सबै विषयमा छलफल गर्न सबै पक्ष सहमत रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्

६ वटा विश्व शक्ति राष्ट्रका प्रतिनिधिहरुले मंगलबारको निर्धारित समयसीमा सकिनुअघि इरानको आणविक कार्यक्रमबारे उसँगको वार्तामा तीव्रता दिईएको बताएका छन्।

सहमतिको अन्तिम प्रयासस्वरुप अमेरिकी, जर्मन र फ्रेन्च विदेशमन्त्रीहरुले आफ्ना भ्रमण कार्यक्रम रद्द गरेका छन्।

अमेरिकी अधिकारीहरुका अनुसार सहमतिका लागि सबै पक्ष चरणबद्ध रुपमा पहल थाल्न सहमत भएपनि मतभेदका बुँदाहरु अझै बाँकी छन्।

पी फाइभ प्लस वान नामले चिनिने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरु र जर्मनी, इरानले परमाणु अस्त्रको विकास गर्न नसकोस् भन्ने सुनिश्चितता चाहन्छन्।

प्रतिबन्ध

इरानले भने परमाणु अस्त्र निर्माण गर्न चाहेको आरोपको खण्डन गर्दै आएको छ।

उसले शक्ति राष्ट्रहरुसँग हुने सहमतिले आफूविरुद्ध लगाइएका प्रतिबन्धहरु फुकुवा हुनेतर्फ डोर्याउने विश्वास लिएको छ।

स्वीट्जरल्याण्डको लुजान शहरमा वार्ता भईरहेको छ, जहाँ शक्ति राष्ट्रका प्रतिनिधिहरुले इरानी विदेशमन्त्री जवाद जारिफसँग छलफल गरिरहेका छन्।

अमेरिकी अधिकारीहरुले इरानसहित सबै पक्षहरु एकपछि अर्को चरणमा समान पहल गर्न सहमत भएको बताएका छन्।

तस्वीर कपीराइट AP
Image caption इरानी विदेशमन्त्री जवाफ जारिफले जर्मन र फ्रेन्च समकक्षीसँग छुट्टै छलफल गरेका थिए

उनीहरुले भने, “हामीले धारणाहरु वार्ताको टेबुलमा राखेका छौँ तर अहिलेसम्म साझा धारणा पाएका छैनौँ, यद्यपि कसैले पनि प्रयास छाडेका छैन्।”

सम्झौता

एकजना वरिष्ठ इरानी वार्ताकार अब्बास अराक्चीले सहमति हुनेमा आफूहरु आशावादी रहेको बताएका छन्।

यद्यपि वार्ता अन्तिम र अत्यन्त कठिन चरणमा रहेको उनको भनाई थियो।

अराक्चीले शक्ति राष्ट्रहरुका मागमध्ये परमाणु भण्डारण विदेश पठाउनुपर्ने माग पुरा गर्न नसकिने स्पष्ट पारे।

ब्रिटिस विदेशमन्त्री फिलिप हेमण्डले भने, “सहमति गर्न सक्ने विश्वास भएरै हामी यहाँ छौँ, सम्झौता भए त्यो सबैको हितमा हुनेछ तर इरानको पहुँचमा परमाणु बम आउन नसक्ने गरी सहमति हुनुपर्छ र त्यसमा कुनै सम्झौता हुँदैन।”