टर्कीमा विद्युत आपूर्ति अवरुद्ध

  • 31 मार्च 2015
टर्की
Image caption अचानक विद्युत सेवा रोकिंदा कैयौं मानिसहरु रेल, मेट्रो लगायतका सार्वजनिक यातायात सेवाभित्रै फँस्न पुगेका थिए

टर्कीमा विद्युत आपूर्ति अवरुद्ध हुँदा इस्तान्बुल, अङ्कारा लगायतका ठूला शहरहरुमा सार्वजनिक यातायात सेवा रोकिएको छ र विमानहरुलाई अन्यत्रै मोडिएको छ।

विद्युत आपूर्ति रोकिँदा देशका झण्डै आधि प्रान्तहरुमा सेवा तथा व्यापारमा असर परेको छ।

स्थानीय समय अनुसार बिहान १० बजेर ३६ मिनट जाँदा बिजुलीको आपूर्ति अचानक रोकिएको थियो।

अचानक विद्युत सेवा रोकिंदा कैयौं मानिसहरु रेल, मेट्रो लगायतका सार्वजनिक यातायात सेवाभित्रै फँस्न पुगेका थिए।

लाम

इस्तान्बुलका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाम लागेको थियो।

अधिकारीहरुले युरोपसंगको मुख्य प्रसारण लाइनमा समस्या आएका कारण विद्युत आपूर्ति अवरुद्ध भएको हुनसक्ने जनाएका छन्।

प्रधानमन्त्री अहमत दाभुतोग्लुले उग्रवादी हमलाका कारण विद्युत आपूर्ति अवरुद्ध भएको हो कि भन्ने बारे पनि छानबिन भैरहेको जनाए।

उर्जा मन्त्रालयमा एउटा संकट केन्द्र खडा गरिएको छ।

टर्कीको विद्युत प्रसारण कम्पनीले मंगलबार दिउँसो सम्ममा इस्तान्बुल र अङ्कारामा १५ प्रतिशत विद्युत सेवामात्र बहाल गरिएको बताए।

सेवा

इस्तान्बुलको यातायात कम्पनीले भने उसको विद्युत सेवा पहिलेको जस्तै स्थितिमा आएको जनाएको छ।

टर्कीश सन्चारमाध्यमहरुसंग कुरा गर्दै टर्कीका उर्जा मन्त्री तानेर यिल्दिजले भने, “अहिले हाम्रो मुख्य लक्ष्य भनेको विद्युत आपूर्ति फेरि बहाल गर्नु हो। यस्तो घटना प्राय: हुने गर्दैन।”

इस्तान्बुलस्थित बीबीसीका संवाददाता मार्क लोवेन भन्छन्, टर्कीमा बेला बेला बत्ती जाने गर्छ, तर देशभरि नै यति ठूलो स्तरमा विद्युत आपूर्ति गएको कैयौं दशकमा पहिलो पटक अवरुद्ध भएको स्थानीय वासिन्दाहरुले जनाएका छन्।

इरानबाट विद्युत आपूर्ति हुने पूर्वी नगर भान लगायतका इलाकामा भने विद्युत आपूर्ति यथावत रहेको छ।‌

पर्यटन, कृषि र उत्पादनमूलक उद्योगधन्दा टर्कीको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु हुन्।

योगदान

व्यापार र वैदेशिक लगानीले टर्कीको आर्थिक वृद्धिमा ठुलो योगदान पुराएका छन्।

तर विश्व अर्थतन्त्रमा देखिएको कमजोर सुधार तथा टर्कीको एउटा प्रमुख व्यापारिक साझेदार छिमेकी सिरियामा जारी गृहयुद्धले उसको अर्थतन्त्रलाई पनि असर पारेको छ।

झण्डै बीस लाख सिरियाली शरणार्थीहरु अहिले टर्कीमा शरण लिइरहेका छन्।

बढ्दो शरणार्थी समस्यासंग जुध्न पनि टर्कीलाई हम्मेहम्मे परिरहेको छ।