'स्वाइन फ्लु नियन्त्रणतर्फ'

  • 1 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption एक हप्तापछि स्वाइन फ्लुको औषधी पर्याप्त हुने अधिकारीहरुको भनाई छ

अघिल्लो वर्षभन्दा यस वर्ष स्वाइन फ्लु संक्रमितको संख्या बढेपनि चिसो घटेसँगै यसको प्रकोप नियन्त्रण उन्मुख रहेको एक उच्च अधिकारीले बताएका छन्।

गएको माघयता यस रोगका कारण तीन जनाको मृत्यु र एक जना केन्द्रीय स्तरका नेतासहित साढे चार सय मानिसहरु संक्रमित भएपनि उच्च तयारी अपनाएकोले रोग नियन्त्रण गर्न सरकार सक्षम रहेको उनीहरुको भनाई छ।

अघिल्लो वर्ष झण्डै तीन सय मानिसहरुमा यस रोगको भाइरस देखिएको थियो भने १८ जनाको मृत्यु भएको थियो।

यस वर्ष भने चिसो मौसम सकिन लागेकोले रोग नियन्त्रण गर्न सहज हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले बताए।

नियन्त्रण

उनले भने, “नियन्त्रणतर्फ गइसकेको छ, दैनिक आउने बिरामीको संख्या निकै घटेको छ, चिकित्सक, नर्स र प्रयोगशालामा काम गर्नेहरुलाई तालिम दिएपछि रोगको परीक्षण पनि धेरै भयो, पहिचान भयो र उपचार भयो भने त यो घातक खालको रोग होईन।”

रोग नियन्त्रणका लागि सरकार सक्षम रहेपनि हाल पर्याप्त औषधी नरहेको तर एक हप्तापछि पुनः औषधी सहज रुपमा उपलब्ध हुने उनले बताए।

“अहिले तत्काललाई पचास जनालाई पुग्ने औषधी बाँकी छ, दोस्रो चरणको खरिद आदेश गइसकेको छ, हप्ता दश दिनमा त्यो आइपुग्ने सम्भावना छ, त्यसपछि १० हजार जनालाई औषधी पुग्छ,” मरासिनीले भने।

उपचार

स्वाइन फ्लुका कारण नेकपा एमालेका एकजना नेता रामनाथ ढकालको अवस्था चिन्ताजनक रहेको खबरका माझ डाक्टर मरासिनीले नेपालमै यो रोगको उपचार गर्न सकिने बताए।

शरीरमा रोग प्रतिरोध गर्ने क्षमता कम भएका, मुटु, कलेजो, मृगौलसम्बन्धी रोग भएका, गर्भवती महिला, बालबालिका, बृद्ध र धेरै धुम्रपान र मद्यपान गर्नेलाई यो रोगले च्याप्न सक्ने उनको भनाई छ।

तर चिकित्सकको परामर्शमा उपचार शुरु गरेमा रोग निको हुने उनले बताए।