चरा निगरानी गर्न उपकरण राख्ने तयारी

  • 2 एप्रिल 2015
Image caption रेडारले विमान चालकलाई चराको गतिविधिबारे सतर्क गराउने बताइएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेला-बेला चराहरु विमानमा ठोक्किएर हुने दुर्घटना बढेपछि त्यसको समाधान गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्ड डिटेक्सन रेडार अर्थात चराको निगरानी गर्ने उपकरण एक वर्षभित्र सञ्चलनमा ल्याउने जनाएको छ।

विमानस्थल वरपर चराहरुको बढ्दो संख्या र गतिविधिलाई परम्परागत तरिकाले नियन्त्रण गर्न कठिन हुँदै गएपछि विमान चालकलाई सतर्क गराउन यस्तो गर्न लागिएको प्राधिकरणको भनाई छ।

हाल विमानस्थलमा विभिन्न उपकरणबाट गोली पड्केको जस्तो आवाज निकालेर, चर्को ध्वनि बजाएर तथा गोली हानेर चराहरु धपाइँदै आएको छ।

तर चराहरुले यस्ता ध्वनिहरु नियमित सुन्न थालेपछि विस्तारै बानी लागेर भाग्न छोड्ने गरेकोले समस्या बढेको प्राधिकरणको भनाई छ।

आधुनिक

चरा मारेर साध्य नहुने र ध्वनि परिवर्तन गरेर तर्साएपनि फेरि त्यसमा बानी लागेर नभाग्ने हुँदा विमानमा चरा ठोक्किने क्रम रोकिएको छैन्।

एक हप्ताअघि मात्रै थाई एयरवेजको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएपछि मर्मतपछि मात्रै उड्न सकेको थियो।

यस्तो दुर्घटना न्यूनिकरणका लागि विमानस्थलमा चरा निगरानी गर्ने आधुनिक उपकरण जडान गर्न लागिएको प्राधिकरणका महाप्रबन्धक बिरेन्द्र श्रेष्ठले बताए।

उनले भने, “चराहरुको क्रियाकलापबाट हुन सक्ने दुर्घटनाहरु न्यूनिकरण गर्न सक्छौं, रनवेको दश एघार किलोमिटर परसम्म कुनै चराको क्रियाकलाप छ भने यसले देखाउँछ, चराको गतिविधि हेरेर कसरी आफू सुरक्षित रहने भनेर विमानलाई सतर्क गराउने काम गर्छौं।”

सञ्चालन

यस्तो प्रविधि भारत लगायतका मुलुकहरुमा सफल देखिएको भन्दै यसै आर्थिक वर्षभित्र बोलपत्र आह्वान गरी उपकरण खरिद गरीने महाप्रबन्धक श्रेष्ठले बताए।

“वैशाखको पहिलो हप्ता बोलपत्र आह्वान गर्यौं भने ९ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ यसलाई सञ्चालनमा ल्याउन,” महाप्रबन्धक श्रेष्ठले भने।

क्यामरा समेत रहने उक्त उपकरणको मूल्य २० करोड रुपैयाँभन्दा बढी पर्ने बताइएको छ।

उक्त उपकरणमार्फत देखिने चराको गतिविधि हेरेर विमान चालकले सतर्कता अपनाएपनि विमानस्थल वरपरका चरा धपाउन भने कर्मचारीहरु नै खटाउनुपर्ने श्रेष्ठले बताए।

यसको लागि परम्परागत तरिकाको सट्टा ताकेर लेजर बिम अर्थात एक किसिमको किरणले चरालाई हानेर भगाउने विधिको अध्ययन भइरहेको पनि उनको भनाई छ।