नाइजेरियामा पूर्वसैनिक शासक नयाँ राष्ट्रपति

  • 1 एप्रिल 2015
Image caption यसअघि तीनवटा राष्ट्रपतीय निर्वाचनमा मोहम्मद बुहारी पराजित भएका थिए

नाइजेरियामा गत शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पूर्वसैनिक शासक मोहम्मद बुहारी विजयी घोषित भएका छन्।

त्यहाँको इतिहासमा राष्ट्रपति पदका विपक्षी उम्मेद्वार विजयी भएको यो पहिलो पटक भएको बताइएको छ।

वर्तमान राष्ट्रपति गुडलक जोनाथनले ७२ वर्षीय मोहम्मद बुहारीलाई मंगलबार राति टेलिफोन गरी बधाई दिएका छन् र आफ्नो पराजय स्वीकार गरेका छन्।

बुहारीकी एकजना महिला समर्थकले भनिन्, “म खुशी छु, औधी खुशी छु, औधी खुशी छु, किनकि हामीले नयाँ परिवर्तन भएको हेर्न गईरहेका छौँ।”

प्रशंसा

जनरल बुहारीले आफ्ना प्रतिद्वन्द्वीभन्दा २० लाख बढी मत ल्याएको आधिकारिक रुपमा नभनिएको मत संख्याले देखाएको छ।

पर्यवेक्षकहरुले निर्वाचनको प्रशंसा गरेका छन्।

यद्यपि धाँधली भएको आरोपहरु पनि लगाइएका छन्।

जनरल बुहारीको अल प्रोग्रेसिभ कंग्रेस-एपीसी पार्टीका एकजना प्रवक्ताले जोनाथनको प्रशंसा गर्दै भने, “यस कदमका लागि उनी नायकको रुपमा रहने छन्, अब नाटकीय रुपमा तनाव कम हुनेछ।”

तस्वीर कपीराइट STATE HOUSE
Image caption वर्तमान राष्ट्रपति गुडलक जोनाथनले चुनावी नतिजाको सम्मान गर्न आग्रह गरेका छन्

उत्तरी शहरहरु कानो र कादुना लगायत एपीसीको पकड रहेका क्षेत्रहरुमा उक्त पार्टीका समर्थकहरु सडकमा उत्रिएर नाचगान गर्दै खुसियाली मनाएका छन्।

आक्रमण

चुनावको नतिजा घोषणा भएपछि एउटा विज्ञप्ति जारी गर्दै एपीसी पार्टीले ‘शान्त’ र ‘भद्र’ रुपले खुशियाली मनाउन र विपक्षीहरुमाथि आक्रमण नगर्न समर्थकहरुलाई आग्रह गरेको थियो।

नयाँ राष्ट्रपतिले भने, “उनी अथवा उ जसले त्यसो गर्छ, उ मसँग हुनेछैन्।”

पूर्वसैनिक शासक बुहारीले २४ वटा राज्यमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गरे, जसका कारण जोनाथनलाई जित्न अर्को चरणको निर्वाचन गराउनु परेन।

बोको हराम लडाकुहरुको आक्रमणबाट सबैभन्दा बढी प्रभावित उत्तर-पश्चिमी राज्यहरुबाट उनले बढी मत पाएको बताइएको छ।

बोको हरामको हिंसाबाट सबैभन्दा बढी प्रभावितमध्ये एउटा बोर्नो राज्यमा उनले ९४ प्रतिशत मत ल्याएका छन्।