न्यायिक आयोग बनाउने सरकारी प्रस्ताव

  • 1 एप्रिल 2015
Image caption नेपाल चिकित्सक संघले बुधवार देशभरका अस्पतालमा बहिरंग सेवा बन्द गराएको थियो

सरकारले चिकित्सा क्षेत्रमा देखिएका विकृतिबारे पुनरावेदन अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बनाएर दोषीलाई कार्वाही गर्न आफू तयार रहेको बताएको छ।

नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने सरकारी निर्णयपछि पनि डाक्टर गोविन्द केसीले अनसन नरोकेपछि सरकारले त्यस्तो प्रतिबद्धता जनाएको हो।

उनले अनियमित तरिकाले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकारीलाई कार्वाही नभएसम्म अनसन फिर्ता नलिने अडान लिएका छन्।

अनसन तोडाउन सरकारलाई दवाव दिन बुधवार चिकित्सकहरुले देशभरका अस्पतालमा बहिरंग सेवा बन्द गरेका थिए।

कार्वाही

सरकारले नयाँ चिकित्सा नीति आएपछि कानुन बनाएर मात्रै नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेपनि डाक्टर केसीले विगतमा ‘जालझेलपूर्वक’ सम्बन्धन दिने शिक्षामन्त्री सहित विश्वविद्यालयका अधिकारीलाई कार्वाही नभएसम्म अनसन नतोड्ने अडान लिएका छन्।

त्यस्ता आरोपबारे शक्तिशाली आयोग बनाउन आफू तयार रहेको बताउँदै सरकारले न्यायिक छानबिन बिना कसैलाई ठाडो कार्वाही गर्ने अधिकार भने आफूसँग नरहेको बताएको छ।

वार्तामा संलग्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले सरकारले पुनरावेदन अदालतका न्यायधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउने तयारी गरेको बताए।

उनले भने, “प्रधानमन्त्रीले यसबारे निर्देशन दिइसक्नुभएको छ, पुनरावेदन अदालतका पूर्व न्यायधीशको अध्यक्षतामा बन्ने आयोगले सत्य तथ्य पत्ता लगाएपछि दोषीलाई कार्वाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, ती सबै समेटेर अन्तिम मस्यौदा तयार गरेर केसीसँग छलफल गर्न हामी जादैँछौँ।”

सरकारी वार्ता समितिले बुधवार बिहानै नेपाल चिकित्सक संघका प्रतिनिधि लगायतसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरी कानुनले मिल्नेसम्म सबै माग पूरा गर्न तयार रहेको बताएको थियो।

उक्त छलफलमा केहीबेर बसेका प्रधानमन्त्री सुशील कोइरालाले केसीका मागबारे सरकार गम्भीर रहेको भन्दै उनको प्राण रक्षाका लागि सहयोग गर्न आग्रह गरेका थिए।

सरकारले यस पटक गरिने सम्झौताको अनुगमनका लागी मुख्यसचिवको संयोजकत्वमा केसीका प्रतिनिधि समेत सहभागी अनुगमन समिति बनाउन आफूहरु तयार रहेको बताएको छ।

अडान

केसीलाई मनाउन उनी अनसन बसेको स्थानमा बुधवार केही दलका नेता र नागरिक समाजका प्रतिनिधि पनि पुगेका थिए।

दुई पक्ष साँझसम्ममा समझदारीमा पुग्ने ठानिएको भएपनि केसीले उधारो सम्झौता नमान्ने अडान लिएपछि अबेरसम्म औपचारिक छलफल समेत सुरु भएको थिएन।

केसीका सहयोगी डाक्टर जीवन क्षेत्रीले अनौपचारिक तहमा कुराकानी भएको र सरकारी पक्षले अनसन त्याग्न केसीलाई मनाउन आग्रह गरेको बताए।

उनले भने, “सरकार र हाम्रो गोविन्द केसी सरबिचको जुन विश्वासको खाडल देखिएको छ त्यसले गर्दा सरले सरकारमाथि विश्वास गर्न नसकेको र अहिले गर्ने भनिएको सम्झौतालाई उहाँले उधारो सम्झिएकाले कुरा नमिलेको हो।”

११ दिनदेखिको अनसनका कारण बिग्रँदै गएको डाक्टर केसीको स्वास्थ अवस्था बुझ्न बुधवार राष्ट्रिय मानवअधिकार आयोगको टोली शिक्षण अस्पताल पुगेको थियो।