सहमतिपछि केसीको अनशन तोड्ने तयारी

  • 2 एप्रिल 2015
तस्वीर कपीराइट .
Image caption अनशनको समर्थनमा कतिपय सरकारी अस्पतालका बहिरंग सेवा बुधबारदेखि बन्द रहे

सरकारले चिकित्सा क्षेत्रमा देखिएका विकृतिबारे पुनरावेदन अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बनाएर दोषीलाई कार्वाही गर्न तयार रहेको जनाउ सहित नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने भनेपछि विहिबार दिउँसो सहमति भएको मुख्य सचिव लिलामणि पौडेलले बताए।

साथै तीन महिनाभित्र चिकित्सा विश्वविद्यालयसम्बन्धी विधेयक बनाइने वाचापनि सरकारले सहमतिमा गरेको छ।

सरकारले मंगलबारनै मन्त्रिपरिषदबाट निर्णय गराई नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेर डाक्टर केसीको प्रमुख माग पूरा गरिसकेको थियो।

तर उनले अनियमित तरिकाले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारी अधिकारीहरुलाई कार्वाही नभएसम्म अनशन फिर्ता नलिने अडान लिए।

पाँचौ पटक

डाक्टर केसीको स्वास्थ स्थिति विग्रंदै गएपछि उनको अनशन तोडाउन सरकारलाई दवाव दिन बुधवारदेखि चिकित्सकहरुले देशभरका कैयौं सरकारी अस्पतालमा बहिरंग सेवा बन्द गरेका थिए।

यसअघि बुधबार बेलुकी बीबीसीसंग कुरा गर्दै सरकारका तर्फबाट डाक्टर केसीसंग वार्ता गर्न खटिएको टोलीका एक सदस्यले सरकारले चिकित्सा क्षेत्रमा देखिएका विकृतिबारे पुनरावेदन अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बनाएर दोषीलाई कार्वाही गर्न तयार रहेको बताएका थिए।

तर पछि बेलुकी भएको वार्तामा कुरा नमिलेपछि विहिबार पुन: वार्ता भएको थियो।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर यसपटक सहित डाक्टर केसी अनशन बसेको पाँच चोटि भइसक्यो।