भेरी-बबई डाइभर्सनको काम शुरु

  • 3 एप्रिल 2015
भेरी नदी
Image caption भेरी-बबई देशकै पहिलो कार्यान्वयन थालनी भएको बहुउद्देश्यीय आयोजना हो

विद्युत उत्पादनसँगै सिँचाइ सुविधा पनि उपलब्ध गराउने लक्ष्यका साथ राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सनको काम शुरु भएको छ।

विवादका कारण लामो समयदेखि अलपत्र परेको यस आयोजनाबाट पश्चिम नेपालको ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र ४८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ।

कार्यान्वयनमा आउन लागेको यो देशकै पहिलो बहुउद्देश्यीय आयोजना हो।

आयोजनाको क्षेत्र छनोट र निर्माण कम्पनीको छनोटका बेला देखिएका अनेक विवादहरुलाई सल्टाउँदै अन्तत देशकै पहिलो बहुउद्देश्यीय आयोजनाको निर्माणको काम शुरु भएको छ।

औपचारिक

बिहिबार प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गरेपछि औपचारिक रुपमा यसको निर्माणको काम शुरु भएको बताइएको छ।

यो आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारणलाईनमा जोडिने छ।

साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरका किसानहरुले वर्षैभरि सुनिश्चित सिँचाइ सुविधा पाउने भेरी बबई डाइभर्सन आयोजनाका प्रमुख शिव कुमार बस्नेतले बताए।

उनले भने, “यो आयोजनाबाट हामी ५१ हजार हेक्टरका किसानले भनेको बेलामा भनेको जति पानी सुनिश्चित रुपमा दिन्छौं र अनवरत रुपमा ४८ हजार विद्युत पनि उत्पादन गर्छौं।”

१२ किलोमिटर सुरुङमार्गमार्फत भेरी नदीको पानीलाई बबई नदीमा लैजाने कामका लागि यो आयोजनामा देशमै पहिलो पटक टनेल बोरिङ मेशिनको प्रयोग गरिने भएको छ।

व्यवस्थापन

जुन कामका लागि चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता भईसकेको र निर्माणको तयारीका लागि उनीहरु कार्यालय स्थापनामा लागि रहेको बताइएको छ।

बजेटको समस्या नरहेकाले निर्माणको काम समयमै हुने आयोजनाका प्रमुख बस्नेतको भनाई छ।

उनले भने, “सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरेको अवस्थामा बजेट सुनिश्चित छ, राम्रो ठेक्का व्यवस्थापनका लागि हामी पूर्णरुपमा प्रतिवद्ध छौं।”

साढे ४ वर्षमा सुरुङको निर्माण सक्ने र सुरुङको काम आधा हुनासाथ विद्युत गृहको निर्माणको काम शुरु गरेर दुवै काम एकसाथ सक्ने योजना छ।

हाल यसको कूल लागत १६ अर्ब रुपैयाँ रहेको बताइएको छ।