केन्यामा शवहरुको सनाखत गरिंदै

  • 3 एप्रिल 2015
केन्या तस्वीर कपीराइट AP
Image caption जिहादी हमलामा मारिनेहरुमध्ये धेरैजसो इसाई विद्यार्थीहरु भएको बताइएको छ

उत्तरपूर्वी केन्यास्थित एउटा विश्वविद्यालयमा बिहीबार गरिएको हमलामा मारिएका झण्डै डेढसय विद्यार्थी तथा अन्यका शवहरु सनाखत गर्ने काम भैरहेको छ।

मृतकहरुका नातेदार आफ्ना परिवारका सदस्यहरुको शव पहिचान गर्न त्यहाँ गैरहेका छन्।

कतिपय शवलाई सनाखतकालागि राजधानी नैरोबी पठाइएको छ।

जिहादीहरुको हमलामा एकसय सतचालिस जनाले ज्यान गुमाएको केन्याको गरिसा नगरका वासिन्दाहरुले आफुहरुले अझै सुरक्षित महसुस नगरेको र सुरक्षादलहरुले उनीहरुलाई दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गर्ने गरेको गुनासो गरेका छन्।

समीक्षा

गरिसाका एकजना सांसद एडेन बारे दुआलेले भने, "आज विहानदेखि हामीले मृतक विद्यार्थीहरुलाई राजधानी नैरोबीस्थित विभिन्न शवगृहहरुमा पठाउने काम गरीरहेका छौं। र, गृहमन्त्रीको नेतृत्वमा वरिष्ठ अधिकारीहरुले सुरक्षा स्थितिको समीक्षा गरिरहेका छन्।"

मारिनेहरुमध्ये धेरैजसो इसाई विद्यार्थीहरु थिए।

अल शबाब उग्रवादी समूहले सो हमलाको जिम्मा लिएको छ।

गरिशा नगरका एकजना वासिन्दा प्याट्रिक लुमुम्बाले भने, "हामी धेरैजसो यहाँ निकै डराएका छौं र सरकारले के गर्छ भन्ने हामीलाई थाहा छैन। यदि स्थिति यस्तै रह्यो भने हामी आफ्नै ठाउँ फर्कनुपर्ने हुनसक्छ किनभने सुरक्षा नभएको ठाउँमा तपाईं काम गर्न सक्नुहुन्न।"

हमला

कम्तीमा पांचजना मुकुण्डोधारीहरुले बिहीबार बिहानै सो विश्वविद्यालयमा हमला गरेका थिए।

शुरुमा उनीहरुले सो विश्वविद्यालयका दुईजना सुरक्षा गार्डहरुको हत्या गरेका थिए।

विश्वविद्यालयमा लुकेको एकजना निशानेवाजले चलाएको गोली लागी बीसजना भन्दा बढी सुरक्षाकर्मीहरु मारिएको बताइएको छ।

सुरक्षा अधिकारीहरुले चारजना हमलाकारीहरु मारिएको जनाएका छन्।

सैनिकहरु र ती बन्दूकधारीहरुबीच घन्टौं संघर्ष चलेको थियो।

पाँचसय भन्दा बढी विद्यार्थीहरु उम्कन सफल भएका थिए।

घोषणा

केन्या सरकारले अल शबाबका एकजना बरिष्ठ अधिकारी मोहामेद कुनोलाई यो हमला र बन्धक प्रकरणको मुख्य योजनाकार भएको बताएको छ, र उनलाई पक्रन सघाउनेलाई ५३ हजार डलर पुरष्कार दिने घोषणा गरेको छ।

केन्याका राष्ट्रपति उहुरु केन्याटाले सो हमलाको निन्दा गरे।

उनले सुरक्षाकर्मीको अभावका कारण केन्यामा समस्या परिरहेको बताउंदै दश हजार नयां प्रहरी प्रत्यासीहरुलाई तत्काल तालिमका लागि हाजिर हुन आदेश पनि दिए।

यसैबीच सोमालियाका राष्ट्रपति हसन शेख महमुदले, उनकै शब्दमा, आतंकवादविरुद्धको लडाईंमा सोमालिया र केन्याबीचको सहकार्य अरु सुदृढ पार्नपर्ने बताए।

केन्या सरकारले अल शबाब विरुद्ध लडन चार वर्ष अघि आफ्ना सेना सोमालिया पठाएपछि सो संगठनले पटक पटक केन्याभित्र हमला गर्दै आएको छ।

झण्डै अढाइ वर्षअघि केन्याको राजधानी नैरोबीस्थित एउटा व्यापारिक केन्द्रमा ६७ जनाको ज्यान जानेगरी गरिएको हमलाकालागि अल शबाबलाई दोष लगाइएको थियो।