खाका संझौताप्रति प्रतिबद्ध: इरान

  • 4 एप्रिल 2015
तस्वीर कपीराइट c
Image caption इरानका राष्ट्रपति हसन रुहानीले खाका संझौताको इरानले सम्मान गर्ने बताएका छन्

इरानका राष्ट्रपतिले छ वटा विश्वशक्तिले प्रारम्भिक आणविक संझौताको पालना गरुन्जेल इरान पनि त्यसप्रति प्रतिबद्ध रहने बताएका छन्।

राष्ट्रका नाममा टेलिभिजन संबोधन गर्दै राष्ट्रपति हसन रुहानीले आफूहरुको धोका दिने मनसाय नभएको बताए।

तर उनले चेतावनी दिँदै भने- यदि विश्व शक्तिहरुले फरक बाटो रोजेमा इरानसँग पनि विकल्पहरु छन्।

बिहिबार हस्ताक्षर गरिएको खाका संझौतामा इरानले आणविक गतिविधि घटाउने र त्यसको सट्टामा नाकाबन्दीबाट राहत पाउने बताइएको छ।

चेतावनी

राष्ट्रपति रुहानीले इरानको आणविका कार्यक्रम शान्तिपूर्ण रहेको कुरा दोहर्याउँदै संझौताले विश्वसँग इरानले सहकार्य गर्न सक्ने देखिएको बताए।

तर उनले चेतावनी दिन छाडेनन्।

उनले भने, 'यदि विश्व शक्तिले प्रतिबद्धता पालना गर्छन भने इरानले पनि गर्छ। तर कुनै दिन उनीहरु अर्को बाटो लागे भने हाम्रो देश पनि फरक बाटो रोज्न स्वतन्त्र छ।'

रुहानीले आफ्नो देशको दुइवटा अनुहार नभएको पनि उल्लेख गरे।

उनले भने हाम्रो देशले कुनै पनि अन्तिम सहमतिको सम्मान गर्नेछ तर पी फाइभ प्लस वान अर्थात अमेरिका, युके, फ्रान्स, रुस, चीन र जर्मनीले पनि त्यसै गर्नुपर्नेछ।

तर ह्वाइट हाउसले भनेको छ अमेरिकाले इजरेललाई खतरा पुग्ने गरी इरानको आणविक कार्यक्रमबारे कुनै हस्ताक्षर गर्ने छैन।

ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति ओबामाले शुक्रबार खाका संझौताप्रति कंग्रेसका नेताहरुसँग छलफल गर्ने बताए।

कतिपय नेताहरुले उक्त खाका संझौताप्रति आशंका व्यक्त गरेका छन्।