संविधानसभाको अर्को बैठक चैत ३० गते

  • 6 एप्रिल 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption विपक्षी मोर्चाले संवाद समितिबाटै विवादित विषयमा छलफल सुरु हुनुपर्ने बताउँदै आएको छ।

झन्डै दुई महिनासम्म पनि संविधानका विवादित विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि संविधानसभाको बैठक डाकेका सभाध्यक्षले पुन: दलहरुको आग्रह भन्दै फेरि एक साताका लागि बैठक सारेका छन्।

दुईवटा शोक प्रस्ताव पारित गरेर टुंगिएको सोमबारको बैठकपछि अबको एकसाताको समय दलहरुले सदुपयोग गरुन् भन्ने आफ्नो आसय रहेको सभाध्यक्षले बताए।

तर विपक्षी मोर्चाले भने सहमतिको सम्भावना नदेखिएको भन्दै आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय अहिले साँझ बसेको बैठकबाट गरेको बताइएको छ।

सोमबारको बैठक शोक प्रस्तावका कारण अन्य कार्य सुचिमा प्रवेश नै नगरी टुङगिएको थियो।

मौका

लामो समय सम्म दलहरुलाई सहमतिका लागि समय दिए पनि उनीहरुले सहमति नजुटाएको भन्दै अघिल्लो साता सभाध्यक्षले सोमबारका लागि संविधानसभा बैठक तोक्दै यो अवधिभर दलहरुबीच सहमति नभए आफू अघि बढ्ने बताएका थिए।

सोही भनाइ कार्यान्वयन गर्नका लागि उनले मंगलबार बैठक डाक्ने हुन कि भन्ने अनुमान चलिरहँदा सभाध्यक्ष नेम्वाङले फेरि दलहरुलाई समय दिएको बताए।

उनले भने, "दलहरुले गम्भीरपूर्वक नै हामीहरु लाग्छौं भन्ने उहाँहरुको कुरा सुनेर यो अहिलेको स्थितिलाई सदुपयोग गर्दै मैले यो चैत ३० गतेको समय तोकेको हुँ। अब धेरै समय पर जान सक्ने अवस्था छैन, तपाइँहरु यसलाई सदुपयोग गर्नुस् मैले त्यही आग्रह गरेको छु।"

तर आफूलाई विभिन्न क्षेत्रबाट अब संविधान लेखन अघि बढ्नुपर्ने दबाब आउन थालेकोले यो स्थितिलाई दलहरुले ध्यान दिनुपर्ने उनले बताए।

सभाध्यक्षले यस्तो आग्रह गरिरहँदा दलहरु भने आआफ्नै अडानमा कायम छन्।

सम्भावना

सत्तापक्षीय नेताहरुले भने अब थप समय खेर फाल्न नहुने बताउँदै आएका छन्।

कानुन मन्त्री तथा नेपाली कांग्रेसका नेता नरहरी आचार्यले भने, "त्यो समयभित्र सहमति हुँदा त्यही अनुसार अघि बढ्ने कुरामा हामी सहमत छौं। अन्यथा संविधानसभाले अंगिकार गरिसकेको बाटोबाट त अब कुनै एउटा दलले चाहेर पछाडि फर्कने कुरा त हुँदैन नि।"

संविधानसभा प्रकृयामा गएको भन्दै यसअघि बैठक बहिस्कार गरेर आन्दोलनमा लागेको एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले अझै सहमतिको सम्भावना नदेखिएको भन्दै आन्दोलनका घोषित कार्यक्रमबाट पछि नहट्ने बताएको छ।

३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डलाई उद्धृत गर्दै एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराज मणि पोखरेलले भने, "प्रधानमन्त्रीको आसय हेर्दा अहिले सहमति गरिहाल्ने खालको देखिन मैले, अलि लामै समय आन्दोलनमा जानुपर्ने अवस्था छ, ३० गतेको बैठक बहुमतीय प्रकृया अन्तर्गतकै हुने भएकोले हाम्रो असहभागिता हुने कुरा त्यहाँ राख्नुभएको छ।"

पछिल्लो समय तीव्ररुपमा सत्तापक्षीय र विपक्षी मोर्चाबीच ध्रुवीकरण बढिरहँदा सभाध्यक्षले दिएको एकसाताको समयावधिभित्र पनि सहमति जुटिहाल्ने स्थिति नदेखिएको स्वयं दलका नेताहरुको भनाइ छ।