भारतमा वायु प्रदूषण स्तर मापन शुरु

  • 7 एप्रिल 2015
दिल्ली तस्वीर कपीराइट AP
Image caption विश्व स्वास्थ्य संगठनले दिल्ली संसारमै सबैभन्दा प्रदूषित शहर भएको जनाएको थियो

भारतले देशमै पहिलो पटक वायु प्रदूषणको स्तर मापनका गर्नकालागि वायु गुणस्तर सूचकांक शुरु गरेको छ।

विश्व स्वास्थ्य संगठनले गत वर्ष संसारका सबैभन्दा बढी प्रदूषित बीसवटा शहरहरुमध्ये तेह्रवटा भारतमा रहेको जनाएको थियो।

राजधानी दिल्ली त संसारमै सबैभन्दा प्रदूषित शहर भएको उसको भनाइ थियो।

प्रदूषण

तर भारत सरकारले उक्त अध्ययन सही नभएको जनाएको थियो।

विश्व स्वास्थ्य संगठनले भारतमा वर्षेनी ६ लाख २० हजार मानिसहरुको प्रदूषणजन्य बिरामीका कारण ज्यान जाने गरेको जनाएको छ।

विशेषज्ञहरु भन्छन्, भारतमा हालैका वर्षहरुमा यातायातका साधनहरु, खासगरी डिजेलबाट चलाउन मिल्ने मोटरहरुको संख्यामा भएको ठूलो वृद्धि प्रदूषणको मुख्य कारकको रुपमा रहेको छ।

त्यस्तै प्रदूषण फैलाउने उद्योगधन्दा, फोहरमैलालाई खुला ठाउँमा जलाउने प्रवृत्ति, रोडा, बालुवाजस्ता निर्माण सामग्री जथाभावी फ्याँक्ने चलन तथा तीव्र वन विनाश वायु प्रदूषण बढनुका मुख्य कारणहरु रहेको विज्ञहरु बताउँछन्।

वातावरण

आइतबार दिल्लीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले भारतलाई आफ्नो वातावरणको ख्याल नगर्ने एउटा मुलुकको रुपमा हेर्ने गरेको बताए।

उनले भने, "त्यस्तो धारणलाई बदल्नै पर्छ र हाम्रो जीवनशैलीमा परिवर्तन गरेर मात्रै प्रदूषण घटाउन संभव छ।"

उनले साइकलमात्रै चलाउने दिन निश्चित गर्न र पूर्णिमाको रातमा सडक बत्तीहरु निभाउने व्यवस्था मिलाउन पनि सुझाव दिए।

उनले भने, "हामीले फोहर उत्पादनमा कटौती गर्नुपर्छ र हामी धनी हुँदै जाँदा हाम्रा स्रोतहरुको पनि संरक्षण गर्नुपर्दछ।"

शुरुमा दिल्ली, आगरा, कानपुर, लखनउ लगायतका दशवटा शहरहरुको वायु प्रदूषण सूचकांक संकलन गरिने र पछि त्यो साठीवटा शहरहरुमा विस्तार गरिने जनाइएको छ।

तर यसरी संकलिन तथ्यांक कसरी प्रयोग गरिनेछ भन्ने चाहिं स्पष्ट छैन।

हालै चीनले पनि ‘प्रदूषण विरुद्ध युद्ध घोषणा’ गर्दै देशका शहरहरुमा प्रदूषणको स्तर बारेको तथ्यांक प्रकाशित गर्न शुरु गरेको छ।