विपक्षी मोर्चाद्वारा बन्द फिर्ता

  • 7 एप्रिल 2015
तस्वीर कपीराइट Riva Bhattarai BBC
Image caption एक दिनको बन्दले झन्डै दुई अर्ब रुपियाँ बराबर क्षति हुने व्यवसायीहरु बताउँछन्

एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले बिहीबारसम्मका लागि घोषित बन्दका कार्यक्रम फिर्ता लिएको छ।

संविधानसभाको बहुमतीय प्रकृया एक हप्ताका लागी स्थगन गरिएको र आन्दोलन फिर्ता लिन नागरीक समाजबाट आग्रह आएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको हो।

आफ्नो तीन दिने आमहडतालको पहिलो दिन बन्दका कारण देशभरको जनजीवन प्रभावित भएपछि मोर्चाले वाँकी संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

मंगलबार जबरजस्ती बन्द गराउने क्रममा झन्डै ५० जना माओवादी नेता तथा कार्यकर्तालाई पक्राउ गरीएको प्रहरीले बताएको छ।

यसअघि बन्दका कारण दैनिक दुई अर्ब रुपियाँको नोक्सानी हुने भन्दै व्यवसायीहरुले आन्दोलनको स्वरुप बदल्न माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।

स्थगन

साँझ पाँच बजे बन्द खुलेपछि सिंहदरवारमा बसेको विपक्षी मोर्चाका नेताहरुको बैठकले नागरिक समाज व्यवसायी लगायतको अनुरोधलाई स्विकार गर्दै बुधवार र बिहीबारका लागी घोषित संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरीराजमणी पोख्रेलले भने, “नागरिक समाज, उद्यमी व्यवसायी र जनता सबैको आग्रह र सरकारले पनि संविधानसभाको प्रकृयालाई एक हप्तापछि सारेको परिस्थितिमा भोली र पर्सीको आमहडताललाई स्थगित गरिएको छ।”

विपक्षी मोर्चाले २६ गते रौतहटमा संयुक्त सभाको आयोजना गर्ने र २७ गते बैठक गरेर आगामी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ।

यसअघि विपक्षीहरुको आमहडतालका कारण मंगलबार देशभरको जनजीवन प्रभावित भएको थियो।

बन्दकर्ताहरुले निजी र सरकारी सहित २० वटा सवारी साधनमा तोडफोड र आगजनी गरेको र दुई वटा सरकारी कार्यलयमा क्षति पुर्याएको अधिकारीहरुले बताएका छन्।

गृहमन्त्रालयले जबरजस्ती बन्द गराउने क्रममा पक्राउ परेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नोक्सान

पछिल्लो आमहडताललाई हालैका बर्षमा लगभग संस्थागत जस्तो हुन गएको बन्दको संस्कृतिको निरन्तरताका रुपमा हेरिएको छ।

नेपाल राष्ट्र बैंकले गरेको एउटा अध्ययनले नेपालमा सन् २००८ देखी सन् २०१३ सम्म साना ठूला गरी लगभग ४५ सय वटा बन्दका गतिविधि भएको उल्लेख गरेको छ।

बन्दका कारण देशको कुल गाह्रस्थ उत्पादनको बृद्धीदर झन्डै आधा देखी सवा दुई प्रतिशत प्रतिबर्षका दरले घटिरहेको र ५ बर्षमा १ खर्ब १७ अर्ब भन्दा बढीको आर्थिक नोक्सानी भएको उक्त अध्ययनले उल्लेख गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका टोलीले मंगलबार एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थियो।

महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले बन्दले दिर्घकालसम्म देशको अर्थतन्त्रलाई असर पुर्याउने बताए।

उनले भने, “एक दिनको बन्दका कारण झन्डै दुई अर्ब रुपियाँ बराबरको नोक्सानी हुन्छ, बन्दले सम्पूर्ण औद्योगिक वातावरण बिगार्छ र अनिश्चितातर्फ देशलाई धकेल्छ।”

वित्तीय अध्ययनले आमहडताललाई महंगी बढ्नुको एउटा प्रमुख कारणका रुपमा देखाउने गरेको पाइएको छ।

लगातार दुई दिन हुने आमहडतालले त्यसपछिको लगत्तैको महिनामा ९ प्रतिशतले र तीन वा सो भन्दा बढी दिनको हडतालले १० प्रतिशतले मंहगी बढाउने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।