मानवीय सहायताका निम्ति पहुँच दिन माग

  • 7 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption पर्यवेक्षकहरुका अनुसार लडाकुहरुले शिविरको ९० प्रतिशत हिस्सामाथि कब्जा जमाएका छन्

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको दमास्कसस्थित प्यालेस्टिनी शरणार्थी शिविर यार्मुकमा मानवीय सहायताका निम्ति तत्काल पहुँच दिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

एकजना राष्ट्रसंघीय अधिकारीले १८ हजार शरणार्थीहरुको अवस्था उनकै शब्दमा मानवताभन्दा बाहिरको भएको बताए।

इस्लामिक स्टेट लडाकुहरुले गत अप्रिल १ मा आक्रमण थालेयता उक्त शरणार्थी शिविरको अवस्था बिग्रिदै गएको बताइन्छ।

१५ राष्ट्रहरु सदस्य रहेको सुरक्षा परिषद्की प्रमुख जोर्डन राजदूत दिना कावारले नागरिकहरुको बचाउ, मानवीय सहायताका लागि पहुँच दिन र ज्यान बचाउने सहायताका निम्ति आग्रह गरिन्।

निन्दा

सिरियाली सरकारको विरोध गर्ने प्यालेस्टिनी लडाकुहरु तथा केही फ्री सिरियन आर्मीहरु इस्लामिक स्टेटविरुद्ध लड्दै आएका छन्।

कावारले भनिन्, “सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले यार्मुक शिविरको गम्भीर अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्, इस्लामिक स्टेट र नुस्रा फ्रन्ट लडाकुहरुले शिविरभित्र रहेका १८ हजार मानिसहरुविरुद्ध गरिरहेको गम्भीर अपराधको सदस्य मुलुकहरुले कडा शब्दमा निन्दा गरेका छन्।”

परिषद्लाई रिपोर्ट बुझाउँदै प्यालेस्टिनी सहायता संस्था अन्वराका एक अधिकारीले उक्त शरणार्थी शिविरको अवस्था अहिलेसम्मकै 'चिन्ताजनक' भएको बताए।

संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले शरणार्थीहरुलाई बचाउनु आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताए।

तस्वीर कपीराइट AFP
Image caption गत साता यार्मुकमा प्रवेश गरी लडाकुहरुले आक्रमण शुरु गरेका थिए

उनले सिरिया वा अन्य देशमा रहेका शरणार्थीहरुलाई स्थानान्तरण गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरे।

सहायता

प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशनका एक अधिकारी अहमद माज्दालानीले सिरियाली सरकार र प्यालेस्टिनी शिविरका समूहबीच मानवीय सहायताका निम्ति पहुँच दिनेबारे छलफल गर्न एउटा प्रतिनिधिमण्डल जान लागेको बताए।

अन्वराका अर्का अधिकारी क्रिस गुन्सले भने, “शिविरभित्रको अवस्था मानवताभन्दा बाहिरको छ, त्यहाँ खानेकुरा छैन्, पानी छैन् र थोरै औषधी छ, मानिसहरु भित्रै कोचिएका छन् र सडकहरुमा लडाइ चलिरहेको छ।”

पर्यवेक्षकहरुका अनुसार आइतबार भीषण लडाइ भएपनि सोमबार छिटफुट लडाइ भएको थियो।

उनीहरुका अनुसार सिरियाका अन्य क्षेत्रमा एकअर्काविरुद्ध लड्दै आएका इस्लामिक स्टेट लडाकु र अल कायदा सम्बद्ध नुस्रा फ्रन्टका लडाकुहरु यार्मुकमा सँगै लडिरहेका छन्।