'इस्लामिक स्टेटविरुद्ध नयाँ कारबाही'

  • 9 एप्रिल 2015
तस्वीर कपीराइट AFP
Image caption अन्वर प्रान्तका अधिकांश शहरहरुमाथि इस्लामिक स्टेट लगायतका समूहले कब्जा जमाएको बताइन्छ

इराकी सरकारले मुलुककै सबैभन्दा ठूलो प्रान्तमा इस्लामिक स्टेट विद्रोहीविरुद्ध सुरक्षा फौजले नयाँ कारबाही थालेको बताएको छ।

राजधानी बगदादाको पश्चिमदेखि फैलिएको सुन्नी मुस्लिम बहुल अन्वर प्रान्तमा कारबाही केन्द्रित गरिएको अधिकारीहरुले बताएका छन्।

इस्लामिक स्टेट विद्रोहीविरुद्ध कारबाही जारी रहँदा सुरक्षा फौज, प्रान्तीय राजधानी रामादीको पूर्वी क्षेत्रमा अगाडि बढिरहेको बताइएको छ।

उक्त क्षेत्रमा रहेका बीबीसीका एकजना संवाददाता भन्छन्, हालै टिक्रिट शहरमा विद्रोहीहरुलाई परास्त गरेको सरकारी फौजले अन्वर प्रान्तमा पनि विजयलाई दोहोर्याउने अपेक्षा गरेको छ।

मुक्त

त्यसअघि प्रधानमन्त्री हैदर अल अबादीले अन्वर प्रान्तलाई इस्लामिक स्टेटबाट मुक्त गराउने योजना रहेको बताएका थिए।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको कार्यालयले भनेको छ, “हाम्रो अर्को लडाइ अन्वर प्रान्तलाई पूर्णरुपमा मुक्त गराउनका निम्ति हुनेछ।”

सरकारी फौजले गत साता टिक्रिटलाई इस्लामिक स्टेट विद्रोहीबाट पुनः सरकारको नियन्त्रणमा फर्काएका थिए।

आफ्नो आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्री अबादीले लेखेका छन्, “टिक्रिटमा जीत हासिल गरेझैं अन्वरमा पनि हामी विजयी हुनेछौँ।”

तस्वीर कपीराइट AFP Getty Images
Image caption टिक्रिटको कारबाहीमा पनि शिया लडाकुहरु सहभागी भएका थिए

रामादीदेखि पूर्वमा पर्ने सिजारियामा विद्रोहीहरुलाई पछाडि धकेलिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

विफल

सिरियासँग सीमा जोडिएको सुन्नी मुस्लिम बहुल अन्वर प्रान्त, इराकको सबैभन्दा ठूलो प्रान्त हो।

उक्त प्रान्तका अधिकांश शहरहरु इस्लामिक स्टेट वा अन्य सुन्नी लडाकुहरुको नियन्त्रणमा रहेको बताइन्छ।

इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणमा रहेको सो प्रान्तको एउटा महत्वपूर्ण शहर फल्लुजामाथि आक्रमणका लागि तीनतिरबाट घेरा हालिएको छ।

सरकारी फौज बाहेक दक्षिणी बगदादबाट शिया लडाकुहरु पनि अन्वर प्रान्तमा प्रवेश गरिरहेको बताइएको छ।

फल्लुजा जस्ता शहरहरुबाट सुन्नी लडाकुहरुलाई धपाउनका निम्ति विगतमा गरिएका प्रयासहरु भने विफल भएका थिए।