टिभी फाइभ मोंदमा साइबर आक्रमण

  • 9 एप्रिल 2015
तस्वीर कपीराइट
Image caption उनीहरुले टिभीफाइभ मोंदको सामाजिक सन्जालमा नकाबधारी इस्लामिक लडाकुको तस्वीर राखीदिएका थिए

फ्रान्सको सरकारले एउटा अन्तर्राष्ट्रिय प्रसारक, टिभी फाइभ मोंदमा भएको साइबर आक्रमणको निन्दा गरेको छ।

विद्रोही समूह इस्लामिक स्टेटसँग सम्बन्धित ह्याकरहरुले सो कम्पनीको वेबसाइट र ११ वटा टिभी च्यानलहरुमा क्षति पु-याएपछि सरकारले त्यसको निन्दा गरेको हो।

प्रधानमन्त्री म्यानुअल भाल्सले यस्तो हमलालाई सूचना पाउने स्वतन्त्रताविरुद्धको आक्रमण भन्दै त्यो अस्वीकार्य भएको बताए।

फ्रान्सेली टेलिभिजन नेटवर्क टिभी फाइभ मोंदले इस्लामिक स्टेटसँग सम्बन्धित भएको दावी गर्ने ह्याकरहरुबाट विगतमा कहिल्यै नभएको त्यस्तो आक्रमणबाट आफूले सास्ती पाएको बताएको छ।

नियन्त्रण

उक्त टेलिभिजन नेटवर्कले आफ्नो टिभी स्टेशन, वेबसाइट र सामाजिक मिडियाका खाताहरु प्रभावित भएको बतायो।

ह्याकरहरुले इस्लामिक स्टेटविरुद्धको कारवाहीमा संलग्न फ्रान्सेली सैनिकका आफन्तहरुको परिचयपत्रहरु भन्दै केही दस्तावेजहरु वेबसाइटमा प्रकाशित गरेका छन्।

टिभी फाइभ मोंदले आक्रमण भएको दुई घन्टाभित्र लगभग सबै साइटहरुमाथि आफ्नो नियन्त्रण पुन: लिइसकेको छ।

उक्त टिभी नेटवर्कका डिजिटल डाइरेक्टर एलेन जेम्मोरले उक्त आक्रमण विगतमा कहिल्यै नभएको र ठूलो परिमाणमा भएको बताए।

टिभी फाइभ मोंदको फेसबुक पेजमा ह्याकरहरुले “साइबर क्यालिफेटले इस्लामिक स्टेटका शत्रुहरु विरुद्ध साइबर जिहादलाई निरन्तर राख्नेछ” भन्ने सन्देश राखेका थिए।

आक्रमण

उनीहरुले टिभीफाइभ मोंदको सोसियल मिडियाको प्रोफाइल पिक्चरलाई परिवर्तन गरेर नकाबधारी इस्लामी लडाकुको तस्वीर राखीदिएका थिए।

सिरिया र इराकमा रहेका इस्लामिक स्टेटविरुद्ध हवाइ हमला गर्ने अमेरिकी नेतृत्वको गठबन्धनमा फ्रान्स पनि रहेको छ।

गत जनवरी महिनामा अमेरिकी सैन्यको ट्वीटर र युट्यूब खाता पनि इस्लामिक स्टेट समर्थक ह्याकरको आक्रमणमा परेका थिए।

तर सेन्टकमले त्यसलाई साइबर छेडछाडमात्र भन्दै त्यो गम्भीर प्रकृतिको हमला नभएको बताएको थियो।