एमाओवादीबाट धोका भयो: उपेन्द्र यादव

  • 10 एप्रिल 2015
Image caption मोर्चाको नेतृत्व गरेको एकीकृत माओवादीले भने आफूहरुबीच समान राय रहेकोले मोर्चा नटुक्रिने बताएको छ।

एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाको एक प्रमुख घटक मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनमा सहयात्री दलहरुलाई गम्भीर धोका दिएको आरोप लगाएका छन्।

तीस दलीय गठबन्धनको प्रतिबद्धता विपरित सरकार सामु झुकेर प्रचण्डले आन्दोलन तुहाएको आरोप उनले लगाए।

उनले मोर्चाको औचित्य समाप्त हुँदै गएकाले मोर्चा भित्रबाटै अर्को मोर्चा बन्नसक्ने संकेत पनि गरे ।

बहुमतीय प्रकृयाबाट संविधान जारी गर्ने सत्ताधारी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको कसरतविरुद्ध पछिल्लो चरणमा घोषणा भएको तीनदिने आमहडताल सहयात्री अन्य दलको असहमतिका बावजुद रोकेर जनतालाई धोका दिनु रहस्यमय भएको यादवले बताए।

सहकार्य

उनले भने, "जबसम्म राज्यले सम्बोधन गर्दैन आन्दोलन फिर्ता हुन्न र संर्घष जारी रहन्छ भन्ने अनि बिहानै सुशिल कोइरालालाइ भेटने, अनि दिउँसो चाहिँ आन्दोलन फिर्ता लिने रहस्य के हो?"

उनले एमाओवादी नेतृत्वको मोर्चासंगको सहकार्य संकटमा परेको पनि बताए।

यादवले, उनकै शब्दमा, आन्दोलनको लाइन लिएमा सहकार्य हुने तर धोका दिने काम गरेमा कुनै किसिमको सहकार्य हुन नसक्ने चेतावनी पनि दिए।

उनले भने, "सत्ताका लागि आत्मसमर्पण गर्ने बाटोमा जाने हो भने हाम्रो पार्टी संर्घषमा जान्छ, आत्मसमपर्णकारी र धोकेबाजका साथमा हाम्रो पार्टी जानसक्दैन।"

आन्दोलन रोकेर एकीकृत माओवादी नेतृत्व सत्ताधारी दलहरुसंग संवादमा जुटेकाले उसमा सत्तामोह जागेको यादवको बुझाइ छ ।

चुनौती

मधेशी लगायत पछाडि पारिएका जनताको अधिकार प्राप्तिका लागि संर्घष गर्न नयाँ खाले मोर्चाको आवश्यकता महसुस भएको पनि यादवले बताए।

उनले भने, "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने, मधेशी, आदिवासी, जनजातिलगायतका विभेदमा पारिएका समुदायलाई मुक्ति दिलाउनका लागि नयाँ ढंगको मोर्चाको आवश्यकता देखियो।"

त्यसका लागि अन्य दलहरुसंग पनि छलफल थालिएको उनको भनाइ छ।

तर जानकारहरु भन्छन्, खटपट ३० दलीय मोर्चाभित्र मात्रै नभइ यादवको पार्टी सामेल भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र पनि बढेको छ। त्यसैले यादवले भनेजस्तै छुट्टै मोर्चा बन्न र बने पनि प्रभावकारी बनाउन थुप्रै चुनौतीहरु छन्।

यादवले यस्तो बताइरहँदा एकीकृत माओवादीका सचिव वर्षमान पुनले भने संघीयता, समावेशीलगायत सहमतिबाटै संविधान जारी गर्ने विषयमा मोर्चाभित्र समान राय रहेकोले अहिलेजस्तै आफूहरु मिलेर अघि बढ्ने बताएका छन्।